राष्ट्रपतिलार्इ साँघुराे भयाे निवास - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राष्ट्रपतिलार्इ साँघुराे भयाे निवास



काठमाडौँ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् ।

७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिम/प्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ ।

मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास विस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय लिएको थियो । एकेडेमीको क्षेत्रफल १९३ रोपनी छ । यसभित्र पेट्रोल पम्पदेखि कुकुर तालिम केन्द्रसम्म छन् । शीतल निवासले यसअघि प्रतिष्ठानको ४१ रोपनी जग्गा उपभोग गरिसकेको छ तैपनि साँघुराे भएकाे भन्दै विस्तार गर्न लागिएकाे खबर कान्तिपुर दैनिकमा छ ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधानले सरकारको यो निर्णय गलत रहेको बताए । ‘यसले प्रहरीको संगठनात्मक क्षमतालाई कमजोर पार्छ,’ उनले भने, ‘सहरको केन्द्रमा हुनुपर्ने सक्रिय संस्थालाई सहरबाहिर सार्ने र निष्क्रिय संस्थाले उक्त स्थान अधिग्रहण गर्ने सरकारको निर्णय ठीक भएन ।’