धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चार जना पक्राउ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चार जना पक्राउ



रुपन्देही। बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चार जना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् ।

पक्राउ पर्नेमा जापानिज् ४९ वर्षिय यासुको ओवा र ४४ वर्षिय मकिहिकुला छन्। त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ वर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षिय तिर्थमाया घले रहेको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तनका लागि घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए।

६ जनाको टोलीले घरघरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानीयले वडा प्रहरी कार्यालय बुटवलमा जानकारी गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोष्टरहरु फेला पारिएको प्रहरीले जनाएको छ ।

स्थानीय हरिशरण पाण्डेले एक घण्टासम्म निगरानी गरेर प्रहरीलाई खवर गरेको बताए । सुकुम्बासी बस्ती र दलित बस्तीमा घलेले विदेशी महिलाहरुलाई लैजाने र धर्म परिवर्तनका लागि प्रचार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।