नेपाल भारतको झण्डा फर्फराउदै विराटनगर आयो रेल
बिराटनगर । प्रदेश नं. १ को अस्थायी राजधानी बिराटनगरसम्म भारतीय रेलको परीक्षण सम्पन्न भएको छ ।
नेपालको कटहरी जोड्ने रेलमार्ग परीक्षणका लागि भारतीय रेल बिराटनगर- १८ बुधनगरसम्म आइपुगेको हो । बिहारको बथनाहादेखि ८ किलोमिटर दुरी तय गर्दै आइतबार ब्रोडगेज मार्गमार्फत एक घण्टामा नेपाल-भारत सीमा क्षेत्र बुधनगरसम्म रेल आइपुगेको हो ।
परीक्षणमा एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कस्टम यार्डसम्म १३१०२ डब्लुडिजी ३ ए रेलको इन्जिनमा नेपाली र भारतीय झण्डा राखेर चालक एन.के.यादवले ल्याएका थिए ।
सफल परीक्षण भएपछि आगामी डिसेम्बर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेसँगै सीमामा रहेको एकीकृत भन्सारसम्म मालबाहक रेल आवत जावत गर्नेछ ।
औद्योगिक सामान ओसार्न बथनाहादेखि बिराटनगर सीमाना कटहरी गाउँपालिकासम्म, १८ किलोमिटर दुरीको परियोजना सञ्चालन भैरहेको छ । तर, जग्गा अधिग्रहणमा ढिलाई हुँदा नेपालतर्फ अझै १० किमी रेलमार्ग बिस्तार गर्न, कटहरीमा प्लेटफर्म र गोदाम घर निर्माण गर्न बाँकी रहेको छ ।
भारतको राइटस लिमिटेड परामर्शदाता रहेको रेलमार्ग भारतीय रेल मन्त्रालय अन्तर्गत रहेको इरकोण कम्पनीले निर्माण गरिरहेको छ । हालसम्म नेपालतर्फ ३ किलोमिटर र भारततर्फ पाँच किमी दुरीमा मात्र बिस्तार भएको छ