सन्दीप लामिछाने परे कारवाहीमा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीप लामिछाने परे कारवाहीमा



काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेलाई अम्पायरले कारवाही सहित डि-मेरिट अंक दिएका छन्।

शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसँगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दीपलाई म्याच रेफ्री सत्यजित सरकारले उक्त कारवाही गरेका हुन्।

खेलको दोश्रो इनिङको चौंथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दीपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर सञ्जय सिग्देलसँग विवाद गरेका थिए।

अम्पायरसँग विवादपछि सन्दीपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दीप घमण्डी भन्दै नाराबाजी गरेका थिए। केहि बेर नाराको प्रतिबाद नगरेका उनले केहि बेरपछि दर्शकले त्यसो भन्दै गर्दा दर्शकपट्टि फर्केर हात उचाल्दै उकासेका थिए र तालीसमेत बजाएका थिए।

सन्दीपसँगै सोहि खेलमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेको र निर्णयबारे अनावस्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पस्टिकरण लिएका छन् र चेतावनी समेत पाएका छन्।

यस्तै शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सको खेलाडी अमर सिंह रौटेलालाई पनि अम्पायरको निर्णयको अनादर गरेको आरोपमा म्याच रेफ्रीले डी-मेरिट अंक दिएका छन्। आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन।

के हो डी-मेरिट अंक ?

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।

खेलपछि म्याच रेफी सत्यजित सरकारले बताए अनुसार नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पीपीएल क्रिकेटका क्रममा सन्दीपले पाएको डी-मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी समेत सत्यजित सरकारले जानकारी दिए । विकेट नेपालबाट