गृहमन्त्री बादललाई नारायणकाजीले ‘जय नेपाल’ भनेपछि - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

गृहमन्त्री बादललाई नारायणकाजीले ‘जय नेपाल’ भनेपछि



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना तथा चियापान कार्यक्रम राख्यो । कार्यक्रममा कांग्रेसी नेताहरू त थिए नै, त्यसबाहेक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता तथा सांसदहरूसहित संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, पेसाकर्मी, नागरिक समाजका अगुवा पनि पुगे ।

त्यो दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै सहमति र एकता हुँदै छ । त्यहाँ हार्दिकता पनि प्रस्टै देखिन्थ्यो ।

त्यहीबीच साढे ३ बजेतिर चियापानमा सहभागी हुन पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजीले ‘जय नेपाल’ शब्दले स्वागत गरे । कार्यक्रममा गृहमन्त्री थापाभन्दा केही समयअघि मात्र पुगेर बिदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्दै हात मिलाउँदा नजिक भएका पत्रकारहरूसमेत हौसिए ।

त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, ‘यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकतालाई मजबुत बनाउँछ ।’ श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक क्रान्तिमा प्रवेश गरेको भन्दै भिन्नताका बीच पनि एकता खोजिनुपर्ने बताए ।

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस ‘हेडक्वार्टर’ प्रवेश गरे । तब त्यो कार्यक्रमको माहोल नै फेरियो । उनले समेत सबै दलबीचको एकता र सहकार्यबाट मुलुकमा शान्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघियतामा प्रवेश गरेको सम्झिए ।

‘मुलुकमा शान्ति प्रक्रियाका बखत पनि सबै दलबीच एकता भयो, संविधान आएको पनि राजनीतिक दलहरूबीचको सहमती सहकार्य र एकताबाटै हो, संघीयता पनि दलहरूबीचको एकताबाटै आयो, अझै पनि दलहरूबीचको एकताबाट मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्ने आवश्यकता छ,’ नेकपा अध्यक्ष दाहालले भने ।

त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने सत्ता पक्षकै हातमा सहमति र एकताको चाबी रहेको भन्दै सत्ता पक्षले चाहे एकता र सहमति सम्भव भएको प्रतिक्रिया दिए ।

‘सत्ता पक्षले चाहे सहमति र सहकार्यको सम्भावना हुन्छ, सत्ता पक्षले नै चाहनुप¥यो,’ कांग्रेस सभापति देउवाले भने ।

चियापानमा आउने पाहुना आगन्तुकहरूलाई प्रवेशस्थलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतले स्वागत गरेका थिए ।

चियापानमा २५ हजारको हाराहारीमा नेता–कार्यकर्ता तथा कांग्रेसका शुभचिन्तकहरू सहभागी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । कांग्रेसले केन्द्रीय कार्यालयमा भएको चियापनमा ६ देखि साढे ६ लाख खर्च भएको अनुमान गरेको छ । शुक्रबारको चियापान सर्लाही जिल्लाबाहेक ७४ जिल्लामा आयोजना गरिएको थियो ।

कांग्रेसले ४१ वर्षे इतिहासमा पहिलोपटक यो कार्यक्रमलाई विकेन्द्रीकरण गरेको हो । २०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसको चियापान कार्यक्रमको सुरुवात भएको थियो ।

पञ्चायतकालसम्म बीपीले यो कार्यक्रमको नेतृत्व गर्दै आएका थिए । उनको निधनपछि यो कार्यक्रमलाई गणेशमान सिंहले निरन्तरता दिए । २०४६÷४७ को जनआन्दोलनपछि भने तत्कालीन पार्टी सभापतिहरूले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

शुक्रबारको चियापानमा नेकपाका नेताहरू झलनाथ खनाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङसमेत पुगेका थिए । यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, नेता लक्ष्मणलाल कर्ण, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा, राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए ।