नेकपाले भन्यो: बेलायती घोषणा गलत
सरकार नेतृत्वकर्ता नेकपाले नेपाली महिलालाई पनि ब्रिटिस सेनामा भर्ती गर्ने त्यहाँका रक्षामन्त्रीको भनाइ गलत भएको भन्दै द्विपक्षीय सहमति बिना उक्त कुरा असम्भव रहेको बताएको छ ।
ब्रिटिस गोर्खा सैनिकले आफ्नो अधिकारका लागि उठाउँदै आएको माग सम्बोधन हुनै बााकी रहेको अवस्थामा थप नयाँ विषय उठाउन नमिल्ने तर्क नेकपाको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गेरखा सैनिकका समस्या समाधानका लागि गठित द्विदेशीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाए पनि त्यसबारे उच्चस्तरमा छलफल गरेर निस्कर्षमा पुग्न बाँकी रहेका बेला बेलायतले महिला भर्तीको नयाँ विषय उठान गरेको भन्दै आपत्ति जनाए ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भर्नासम्बन्धी द्विपक्षीय सन्धि र प्रभावका बारेमा छलफल गरेर निस्कर्षमा पुग्न लागिएका बेला नयाँ विषय उठाइनु ठीक नभएको तर्क उनको छ । गोरखा भर्ती केन्द्रकै बारेमा समग्रमा नयाँ सहमति गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले महिला भर्तीमा मात्र छलफल हुन नसक्ने स्पष्ट गरे । ‘महिलाहरुको सन्दर्भमा मात्र नयाँ सन्धि वा सम्झौता गर्ने भन्दा पनि समग्र भर्ना प्रक्रिया र नेपालीहरुमाथि भइरहेको व्यवहारबारे छलफल गरेर निस्कर्षमा पु¥याउनुपर्छ’, बीबीसी नेपाली सेवासँग कुरा गर्दै बिहीबार उनले भने, ‘द्विपक्षीय कार्यदलले रिपोर्ट तयार गरेर बुझाइसकेको छ ।
दुई देशबीच उच्चस्तरमा छलफल गरेर निस्कर्षमा पुग्नुपर्छ । त्यसमा नेपालका तर्फबाट पहल गर्नुपर्छ ।’ श्रेष्ठले नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्नेबारे भन्दा आफ्नै देशमा रोजगारीको राम्रो अवसर सिर्जना गर्नेतिर बहस केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।