केशव स्थापितलाई पदबाट हटाउने योजना - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

केशव स्थापितलाई पदबाट हटाउने योजना



काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पूर्वाधार तथा भाैतिक मन्त्री केशव स्थापितलाई पदबाट हटाउने योजना बनाउनु भएको छ । स्थापित पछिल्लो समय विभिन्न विवादमा परेपछि मुख्यमन्त्री पौडेलले मन्त्रीबाट हटाउने योजना गर्नुभएको हो । बेलाबखत विभिन्न कारणले चर्चामा आइरहने स्थापित पछिल्लो पटक मिठू प्रकरणले विवादित हुनुभएको छ ।

स्थापितमाथि मुख्यमन्त्रीलाई अपमान गरेको र मन्त्रीको जिम्मेवारी समेत पूरा नगरेको आरोप लागेको छ । उहाँलाई त्यहीकारण मन्त्री हटाउन लागिएको मुख्यमन्त्ती सचिवालय स्रोतले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकमा समेत स्थापितले मुख्यमन्त्री पौडेलप्रति अभद्र व्यवहार गरेको स्रोतको भनाई छ ।

स्थापितलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री पौडेल अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलसहित बुधबार काठमाडौं आउनुभएको छ । तर स्थापितलाई मन्त्रीबाट हटाउन त्यति सजिलो भने छैन । प्रधानमन्त्री के.पी ओली निकट व्यक्तिका रुपमा चिनिएका स्थापित नेपाल कम्युनिष्ट पार्टीभित्र बलिया मानिन्छन् ।

त्यसकारण मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग सल्लाह नगरी स्थापितलाई मन्त्रीबाट फ्याक्ने सक्ने अवस्था छैन । पौडेललाई मुख्यमन्त्री बनाउन स्थापितको भूमिका छ । प्रदेश ३ को मुख्यमन्त्रीमा तत्कालीन एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्विकल्प चर्चा भइरहँदा त्यसमा स्थापितले साथ नदिएकै कारण अप्रत्यासित ढंगले पौडेल मुख्यमन्त्री बन्नुभएको हो ।

शुक्रबारबाट अस्वस्थ हुनुभएका प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । यद्यपि उहाँ बोल्न सक्ने हुनुभएको छ । मुख्यमन्त्री पौडेल काठमाडौ आइपुग्ना साथ अस्पतालमै पुगेर प्रधानमन्त्री ओलीलाई भेट्ने स्रोतले जनाएको छ । प्रधानमन्त्रीसँगको भेट्मा मुख्यमन्त्री पौडेलले स्थापितलार्इ मन्त्रीबाट हटाउन अनुमति माग्ने स्रोतले बताएकाे छ ।

स्थापितलाई हटाउलान् त ओलीले ?

मुख्यमन्त्री पौडेलले हटाउन चाहे पनि स्थापितलाई मन्त्रीबाट हटाउन भने त्यति सजिलो छैन । किन भने विगतमा एमाले छोडेर विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा बरालिइरहेका स्थापितलाई पछिल्लो पटक ओलीले नै एमालेमा भित्र्याउनु भएको हो । ओलीले स्थापितलाई काठमाडौ महानगरपालिकामा पुन मेयर बनाउन आश्वासनसहित एमालेमा फिर्ता गराएको स्रोत बताउँछ ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा अन्तिमसम्म पनि स्थापित र विद्यासुन्दर शाक्यको नाम चर्चामा थियो । लामोसमय एमाले छोडेका स्थापितलाई मेयर बनाउँदा पार्टीभित्र चर्को आलोचना हुने र चुनाव जित्ने संभावना समेत क्षण भएपछि अन्तिममा शाक्यलाई उमेदवार बनाइएको हो । शाक्यलाई मेयरको उमेदवार बनाउँदा ओलीले स्थापितलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएको स्रोतको भनाई छ ।

ओलीले स्थापितलाई मन्त्री पक्कापक्की गरे लगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो र एकीकरण प्रकृया समेत अगाडि बढ्यो । तालमेलमा स्थापितको कार्य क्षेत्र काठमाडौ क्षेत्र नम्बर ६ माओवादीको भागमा पर्यो । अनि त्यहाँ स्थापित प्रतिनिधिसभा सदस्य बन्ने अवस्था आएन, प्रदेशसभातिर खुम्चनु पर्यो ।

मेयर हुँदै संघीय सरकारको मन्त्रीको सपना देखाएर प्रदेशमा खुम्च्याउन लागेपछि स्थापितले त्यसबेला ओलीसँग असन्तुष्टि जनाउँदै फेरि पार्टी छोड्ने चेतावनी समेत दिनुभएको थियो । तर ओलीले प्रदेशमा सकेसम्म मुख्यमन्त्री नै बनाउने, यदि त्यो सम्भव नभए प्रदेश सरकारमा आकर्षक पद दिने प्रतिवद्धतासहित आश्वास्त पारेको स्रोत बनाउँछ । प्रधानमन्त्री ओलीको त्यही प्रतिवद्धताकै कारण विगतमा पनि विवादमा परेका स्थापितलाई पूर्वाधार तथा भौतिक मन्त्री बनाइएकाे हो ।

स्थापितलाई चोख्याउने अभियान

मिठु प्रकरणले विवदमा परेका मन्त्री स्थापितलाई चोख्याउन प्रयास थालिएको छ । त्यसको लागि काठमाडौ महानगरपालिकाभित्र अभियान नै थालिएको छ । महानगरपालिकाले मन्त्री स्थापित माथि लगाइएको लान्छनाको खण्डन गरेको छ ।