साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु



काठमाडौं । विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि निर्माणकर्ता र धरहराको मोडल स्वीकृत भएलगत्तै पुनर्निर्माण प्रक्रिया अगाडि बढेको हो ।

२०७२ सालको भूकम्पले पूर्ण रूपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेर रकम संकलन गरिएको थियो। यसैगरी, नेपाल टेलिकमले धरहरा पुनर्निर्माणमा चासो देखाए पनि ठोस रूपमा प्रक्रिया अघि बढ्न सकेको थिएन। तर, पुनर्निर्माण प्राधिकरण आफैंले जिम्मेवारी लिएपछि निर्माण प्रक्रिया अगाडि बढेको छ।

विनाशकारी भूकम्पले भत्किएको धरहरालाई सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न प्रविधियुक्त बनाउन सुरु गरेको हो । अब बन्ने धरहरा छिर्नेबित्तिकै आकर्षक बगैंचा आउने, परिसरमा लाइब्रेरी, रेस्टुरेन्टलगायतका सुविधा हुनेछन् । सुन्धारालाई थप आकर्षित बनाइनेछ। सुनबाट बनेको सुन्धारामा सर्वसाधारणले मनोरञ्जन लिन सक्नेगरी धरहरा बनाइने योजना बनेको छ। २९ रोपनी क्षेत्रफलमा धरहराको निर्माण कार्य सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार धरहरा निर्माणका लागि अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागले ओगटेको स्थानसमेत धरहरा निर्माणमा प्रयोग गर्नेगरी काम सुरु गरिएको छ। यसअघि नौ तला रहेको धरहरा अब ११ तलाको बन्नेछ। अब बन्ने धरहरा अत्याधुनिक तरिकाले बनाइने र धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका थुप्रै सुविधा हुने आजको राजधानी दैनिकमा खबर छ ।