प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजानेबारे छलफल हुँदै

कात्तिक । रुघा, खोकीबाहेक अरु केही पनि नभएको बताइए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा अरु जटील समस्या हुन सक्ने बताईएको छ ।
भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएको चिकित्सकहरुले बताएका छन् । तर विगत लामो समयदेखि किड्नी उपचारको औषधी खाइरहेका ओलीको किड्नीमा पनि समस्या हुन सक्ने आशंका गरिएको छ । यद्यपी ओलीको उपचारमा संलग्न चिकित्सकहरुले भने रुघा खोकीका कारण छातिमा मात्रै संक्रमण भएको जानकारी दिएका छन् ।
ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले गम्भीर प्रकृतिको समस्या नभएको दावी गर्दै आज विहानसम्ममा स्वास्थ्यमा सुधार भएको जानकारी दिए । “भाइरल फिबरका कारण छातीमा समस्या देखिएको हो । अरु समस्या छैन ।” सायमीले भने ।
अहिले किड्नीमा कुनै समस्या नदेखिएकोसमेत बताएका छन् ।
भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन् ।
चिकित्सकहरुका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले अरूबाट ल्याएर राखिएको मिर्गौलालाई सजिलै चिन्दैन । अरुको मिर्गौलालाई आक्रमण गरेर नष्ट पार्न खोज्छ । त्यसैले मिर्गौला नष्ट हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधि दिएर लठ्याइन्छ ।
औषधि खाएन भने प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाड्छ । औषधिले प्रतिरक्षा प्रणाली कमजोर पारेका कारण प्रत्यारोपण गरेको मिर्गौलाले काम गरिरहेको हुन्छ । प्रतिरक्षा प्रणालीलाई धेरै कमजोर पार्दा अन्य भाइरस वा व्याक्टेरियाले शरीरका अन्य प्रणाली आक्रमण गर्न सक्छ । त्यसैले प्रत्यारोपण पछि औषधि खाइरहँदा पनि खतरा हुन्छ ।
चिकित्सकहरुका अनुसार अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएर प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएको हो ।
टिचिङमा ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल विहानै पुगेका थिए । अरु शीर्ष नेताहरु पनि अस्पतालन आउने क्रम जारी छ ।
स्वास्थ्य अवस्थाबारे ख्याल राखेर ओलीलाई उपचारका लागि विदेश लैजाने भन्ने विषयमा पनि छलफल भइरहेको बताईएको छ

