नेकपाको चियापानमा यसरी गरियो आफ्नै कार्यकर्तालाई कुटपिट (भिडियो सहित) - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेकपाको चियापानमा यसरी गरियो आफ्नै कार्यकर्तालाई कुटपिट (भिडियो सहित)



काठमाडौं- शनिबार भृकुटीमण्डप पार्क सधैं व्यस्त हुने गर्छ। बिदा मनाउन बच्चाबच्ची लिएर आएका बाबुआमा हुन् या प्रेमालाप गर्न आउने युवायुवती। तर आज शनिबार भृकुटीमण्डप राजनीतिमय बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुन नेता कार्यकर्ता र चासो राख्ने सर्वसाधारण भृकुटीमण्डमा ओइरिएका छन्।

१२ बजेपछि एकाएक भिड बढ्दै थियो। प्रदर्शनीमार्गसम्म तन्किएको लाइन पछि पद्मोदय मोडसम्म पुग्यो।

मुख्य नेताहरु आगन्तुकलाई स्वागत गर्नमै व्यस्त थिए।

उपलब्ध परिकार खानेहरु पनि हातमा बोकेर यताउता डुलिरहेका थिए। पार्टीका कुरा, गुटका कुरा, सरकारले केही गर्न नसकेको कुरा, विरोधीले काम गर्न नदिएको वा मिडियाले गलत प्रचार गरेको कुरा झुन्डझुन्डका गफका विषय बनिरहेका थिए।

त्यतिकैमा भुइँमा छरिएका हरियो पर्चा उठाउँदै पढ्नेहरु देखिए। त्यहाँ कसैले पर्चा छरिदिएको रहेछ। केहीले त्यसलाई वास्ता गरिरहेका थिएनन्। कोही भने जिज्ञासु नजरले पर्चाका अक्षर खुट्याइरहेका थिए।

एक जना कार्यकर्ता ‘चियापान बहिस्कार गर्ने? को हो त्यो?’ भन्दै ढाका टोपी लगाएका अर्का मान्छेलाई बाहिर जान दबाब दिइरहेका थिए। तर ढाका टोपी लगाउने मानिस झन् कठोर सुनिए, ‘गृहमन्त्रीमा जानुस्, अध्यक्षलाई भन्नुस् तर ठूला कुरा नगर्नुस्।’

बाहिर जान दबाब दिने व्यक्तिले नजिकै उभिएका प्रहरीलाई पनि ती व्यक्तिलाई बाहिर पठाउन आग्रह गरे। तर, प्रहरीले नसुनेझैं गरे।

कार्यकर्ताले ती व्यक्तिलाई गेट बाहिर गएर बहिस्कार गर्न अनुरोध गरे। तर ती व्यक्तिले टेरेनन्। ‘अध्यक्षलाई भन्नुस्, ठूला कुरा नगर्नुस्’ भन्दै प्रतिवाद गरिरहे।

विवाद चलिरहेकै थियो। एक जनाले उक्त व्यक्तिलाई झापड हानिहाले। अरु व्यक्तिले नकुट्न अनुरोध गरे। ‘नकुट’, भिडमा कसैले भन्यो, ‘मिडिया सिडिया आउछन्, नगर्नुस्।’

त्यतिकैमा सुरुदेखि नै उनलाई बाहिर निकाल्न कसरत गरिरहेका अर्को व्यक्तिले उनलाई लात्ताले भकुरे। भने, ‘चियापान कार्यक्रममा विरोध पो गर्दो रहेछ।’

त्यसपछि पनि ढाकटोपी लगाउने ती व्यक्ति आफू बाहिर नजाने अडान कसिरहेका थिए। तर, एउटा समूहले धकेल्दै बाहिर निकाल्यो। ‘प्रतिगामी हो’, गेटमा उभिएका स्वयंसेवकलाई समूहको एक जनाले अनुरोध गरे, ‘बाहिर निकाल्देऊ।’

कुटाइ खाने व्यक्तिले छरेको पर्चामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिद्वारा जारी भन्दै ५ बुँदे माग पनि राखिएको छ। एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०/५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

वरिष्ठ नेताहरुको पदलोलुपता र व्यक्तिगत इच्छाका कारण कार्यकर्ताले मनभित्रबाट एकताको खुसीयाली मनाउन नसकेको पनि असन्तुष्टि पर्चामा व्यक्त गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ। पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा कार्यक्रम आयोजना गरिएको हो। ५ बजेसम्म चियापान चल्नेछ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ५० हजार जनालाई नेकपाले निम्तो गरेको थियो। राजनीतिक दलका नेता, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु उपस्थित छन्।नेपाल लाईभबाट