५ नम्बर प्रदेश सरकारद्वारा प्रदेश मामिला सूचना केन्द्र स्थापना
काठमाडौं । ५ नम्बर प्रदेश सरकारले, प्रदेश मामिला सूचना केन्द्र स्थापना गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा सञ्चालनमा ल्याइएको सूचना केन्द्र मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार उद्घाटन गर्नुभयो ।
सूचना केन्द्रमा अहिले विपद, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सूचना केन्द्र नागरिकसँगको सम्बन्ध जोड्ने महत्वपूर्ण पक्ष भएकाले तल्लो तहसम्म सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले विपदको बेला सूचना पाउनु महत्वपूर्ण हुने उल्लेख गर्दै प्राप्त सूचनाको विश्लेषण गरी अघि बढ्नुपर्ने बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशका १ सय ९ स्थानीय तहमा सूचना केन्द्र विस्तार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताउनुभयो ।