ओली र प्रचण्ड बिरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी
काठमाडौँ- पार्टीको नामलाई लिएर विवादित केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमति हुन नसकेपछि त्यसको उपयुक्त निर्णय लिने जिम्मेवारी निर्वाचन आयोगको काँधमा ठोक्किएकाे छ।
आयोगले बुधबार आफ्नै कार्यालयमा ती दलका नेता एवं वकिलहरुलाई बोलाएर सहमतिका लागि प्रयास गरे पनि उनीहरु नाम परिवर्तन नगर्ने आआफ्नो अडानमा रहेपछि त्यसबारे निर्णय लिने जिम्मेवारी आयोगको काँधमा ठोक्किएको हो।
आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार निर्धारित दुई घण्टाभित्र ती दलहरुलाई नामको विवाद टुंग्याउन आग्रह गरेपनि त्यो असफल भएपछि त्यसबारे निर्णय आयोगले छिट्टै लिने जानकारी दिए।
‘दुई दलका सम्बन्धित नेता तथा वकिलहरुसँग प्रमुख आयुक्त सहितको इजलासमा पहिले करिव दुई घण्टा छलफल भयो । मेलमिलाप गर्नुहोस भन्दै दुई घण्टाको समय पनि दिइएको थियो । तर उक्त समयभित्र उहाँहरु आ—आफ्नो अडानबाट बाहिरिन सक्नु भएन । अव आयोग आफैले निर्णय लिने छ’, उनले भने ।
ऋषि कट्टेल नेतृत्वको समूहले २०७० साउन १२ गते आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेको थियो।
एमाले र माओवादी केन्द्रबीच एकता भएको ८ दिनपछि गत जेठ ११ गते ओली र दाहाल नेतृत्वको समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममै आयोगमा पार्टी दर्ता गरेको थियो ।
ऋषि कट्टेलको समूहले छोटकरीमा आफ्नो पार्टीलाई पनि ‘नेकपा’ नै भन्नु पर्ने भएकाले उक्त पार्टीको नामसँग आफनो पार्टीको नाम मिल्दा समस्या भएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग सहित आयोगमा उजुरी दर्ता गरेको थियो।
तर ओली—दाहाल समूहले आफ्नो पार्टीको नामसँग ऋषि कट्टेलको समूहको पार्टीसँग नाम नमिल्ने भन्दै त्यसलाई सच्याउनु पर्ने जरुरी नरहेको दावी गर्दै आएको छ ।
दुईपक्षबीच बुधबार छलफल भएपछि ऋषि कट्टेलको समूहका कृष्णहरी भट्टले ओली—दाहाल नेतृत्वको पार्टीले आफ्नो नाम नसच्याए त्यसविरुद्ध आफुहरु सर्वोच्च अदालत जाने चेतावनी दिए।
तर ओली—दाहाल समूहका मुक्ति प्रधानले आफुहरुले कानुन अनुसार नै पार्टी दर्ता गरेको र त्यसमा कुनै विवाद गर्नु पर्ने आवश्यकता नरहेको बताए।