ओली र प्रचण्डको ‘वार्म अप मिटिङ’ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

ओली र प्रचण्डको ‘वार्म अप मिटिङ’



केहीबेरमै हुने नेकपा केन्द्रीय सचिवालय बैठक अघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच एक्लाएक्लै वार्ता सुरु भएको छ।

हिजोको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै चर्काे आलोचना खेपेका ओलीमा आफूप्रति नकरात्मक धारणा सिर्जना नहोस् भनेर प्रचण्डले ओलीसँग वार्ता गरेका हुन्।

हिजो भएको बैठकको निरन्तरता स्वरुप आज दिउसो १ बजे बस्न लागेको केन्द्रीय सचिवालयको बैठक अघि ओली–प्रचण्डबीच एक्लाएक्लै वार्ता भएको हो।

केन्द्रीय सचिवालयको बैठक १ बजे हुने तय भएकोमा ओलीसँग वार्ताका लागि प्रचण्ड विहान साढे ११ बजे नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

हिजोको बैठकमा सरकारको कामकारवाही, पार्टी एकता लगायतका विषयमा झण्डै ४ घण्टा बैठक भएको थियो।

बैठकमा बोल्ने अधिकांस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए।

सरकारको काम कारवाहीप्रति जनगुनासो बढेको बताउँदा सरकारमा रहेका नेताहरुले अन्य नेतालाई भारतको लहैलहैमा लागेर सरकार ढाल्न खोजेको भन्दै दुश्प्रचार गरेको गुनासो गरेका थिए।

नेताहरुले असन्तुष्टि पोख्ने काम हिजै गरेकाले आजको बैठक सौहाद्र्धपूर्ण हुने विश्वास नेताहरुले लिएका छन्।