के राजसंस्थाप्रति जनताको मन फर्किएको हो त ? - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

के राजसंस्थाप्रति जनताको मन फर्किएको हो त ?



पहिलेका दशैँमा भन्दा यस पटकको दशैँमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग टीका लगाउन आउनेको संख्या दोब्बर बढेको विश्लेषण निर्मल निवासले गरेको छ।

निर्मल निवास स्रोतका अनुसार, गत सालसम्म पूर्वराजा-रानीसँग टीका लगाउन करिव ४ हजार सर्वसाधारण जाने गरेकोमा यस पटक झण्डै १० हजार निर्मल निवास पुगेका थिए।

‘पूर्वराजासँग टीका लगाउन कति सर्वसाधारण आउँदा रहेछन् भनेर सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई गन्न लगाइएको थियो’ स्रोतले भन्यो, ‘दरवारका पूर्व सचिव मधुसुदन तिमिल्सिनाले पनि केही कर्मचारीलाई यो प्रयोजनका लागि कर्मचारी खटाउनु भएको थियो।’

‘पोहोरसम्म ४ हजार भन्दा बढी आउन्नथे, तर यस पटक निकै ठूलो भीडभाड देखियो’ पूर्व राजाका एक सहयोगीले भने, ‘यसले गर्दा पूर्वराजाको उत्साह एकदमै बढेको छ।’

साढे तीन बजेदेखि सुरु गर्ने भनिएको टीका कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र शुक्रबार (२ कार्तिक) २ बजे नै निर्मल निवास पुगेका थिए। त्यसअघि उनी विहानै निर्मल निवासबाट आमा रत्न शाह बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिल पुगेका थिए।

शाही परम्परा अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई दरवारका गुरुज्यू र नम्बरी पण्डितहरुले पहिले टीका लगाइदिएका थिए।

‘विहान ९.५१ को साइतमा सबैभन्दा पहिले नायब बडागुरुज्यू माधवप्रसाद भट्टराई र अन्य ४ जना नम्बरी पण्डितहरुले टीका लगाइदिए’ स्रोतले भन्यो, ‘त्यसपछि मात्र आमा रत्न शाहले टीका लगाइदिनु भयो।’

पूर्व बडामहारानी रत्नले पनि नायब बडा गुरुज्यू भट्टराई र ४ जना नम्बरी पण्डितबाट टीका लगाएपछि ज्ञानेन्द्र लगायत पूर्व राजपरिवारका ५ सदस्यलाई टीका लगाइदिएकी थिइन्। उनीबाट लहरै टीका लगाउनेमा ज्ञानेन्द्र शाह, कोमल शाह, पारश शाह, हिमानी शाह र प्रेरणा शाह थिए।

पूर्व राजपरिवारका पाँच जना महत्वपूर्ण सदस्यलाई टीका लगाइदिएपछि रत्नले अन्य नातेदार र दरवारका पुराना कर्मचारीहरुलाई टीका लगाइदिएकी थिइन्।