काठमाडौं मै फेला पर्यो नक्कली नोट बनाउने कारखाना ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

काठमाडौं मै फेला पर्यो नक्कली नोट बनाउने कारखाना !



काठमाडौं । राजधानीमै नक्कली नोट बनाउने कारखाना ! सुन्दा अलि अचम्म लाग्ला । तर, घटना यथार्थ हो । प्रहरीले काठमाडौंको मच्छेगाँउमा नक्कली नोट बनाउने कारखाना फेला पारेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको छ।

कीर्तिपुर नगरपालिका मच्छेगाँउ ४ स्थित कृष्णबहादुर क्षेत्रीको साढे चार तले घरको पहिलो तलामा नारायण श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्रीसहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखाएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुरका २५ वर्षीय साहिल थापामगर, पर्साका २८ वर्षीय राज श्रेष्ठ र कागेश्वरी काठमाडौंका विकास दोचे छन्।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार नक्कली नोट, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन र २ थान मसी, पैसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, ४ थान मोबाइल, कैची तीन थान, लालिगुँरास अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजार का तीन थान नोट र १०० को ३ थान नोट, गोर्खा फाइनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिन् १२ थान र नक्कली एनआसी बैंकको चेक बुक बरामद गरेको छ।

शुक्रबार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रबार पक्राउ गरेको थियो। उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।