शहीद परिवारमाथि राज्यमन्त्रीको शोषण - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

शहीद परिवारमाथि राज्यमन्त्रीको शोषण



काठमाडौं– मधेश आन्दोलनको जगमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा सरकार सञ्चालन गरेको भएपनि सरकारका मन्त्रीले शहीद परिवारलाई शोषण गरेको खुलासा भएको छ ।

शहीदको बलिदानपछि जितेर अहिले मन्त्रीसम्म बन्न सफल भएपनि मन्त्रीबाटै शहिद परिवारको शोषण हुने गरेको पाइएको छ । मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिएपनि श्रम र आर्थिक शोषण गरिएको पीडित शहीद परिबारले आरोप लगाएका छन् ।

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले शहीद परिवारलाई रोजगारी दिएपनि श्रम शोषणका साथसाथै तलबमा हिनामिना गरिरहेको आरोप लागेको छ । मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका महोत्तरीको जलेश्वर नगरपालिकास्थित बखरी गाउँका शहीद अमित कापरको परिवारलाई राज्यमन्त्री शर्माले रोजगारी दिएका थिए ।

शहीद अमित कापरकी आमा चन्द्रकला देवीले लोकान्तरलाई दिएको जानकारी अनुसार राज्यमन्त्री शर्माले छोरा सुजित कापरलाई भान्सेको जागिर दिएपनि एकै जनाको तलबमा २ जना छोरालाई काममा लगाइएको छ ।

गत साउन १० गते भान्सेमा छोरालाई नियुक्ति दिएपछि ३ महिनाको तलब दिए तर शुरूमा दशैं पेश्की काटेको उनले बताइन् । त्यसपछि स्थानीय पत्रकारलाई भनेपछि दशैं पेश्की मिलेको उनले बताइन् ।

‘शुरूमा ३ महिनाको तलब दिनुभयो । तर, दशैं पेश्की भने काट्नुभयो,’ उनले भनिन्, ‘मन्त्री ज्यूको स्वकीय सचिव सुरेश ठाकुरले मेरो श्रीमान रामबृछ ठाकुर (शहीद अमितका बुवा) लाई जलेश्वर लगेर दशैंको पेश्की काटिएको छ, पाउनुहुन्न भनेर बाँकी तलब दिनुभयो । तर, दशैंको पेश्की भने दिनुभएन ।’

शहीद अमितकी पत्नी मन्तोरिया देवीका अनुसार सुनित र सञ्जितले १५ दिनसम्म मन्त्री निवासमा खाना पकाउने काम गरेको बताइन् । ‘तर, तलब १८ हजार रुपैयाँबाटै दुवैलाई बाँडेर दिने कुरा गर्नुभएको थियो,’ उनले भनिन्, ‘दुवै दाजुभाइ त्यहीँ पैसामा काम गर्ने हो भने गर, नत्र मलाई अर्को व्यक्ति पनि राख्नुपर्छ र त्यही पैसाबाट काटेर दिनुपर्छ भनेर समेत भनेका छन् ।’ बिहान ६ बजेदेखि राति ११ बजेसम्म निवासमा काम गरेर धेरै मिहिनेत हुने गरेको उनले बताइन् ।

शहीद परिवारको आरोपबारे बुझ्दा राज्यमन्त्री शर्माले त्यस्तो कुनै कुरा नरहेको दाबी गरे ।