बडादशैंको आठौँ दिन दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बडादशैंको आठौँ दिन दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै



काठमाडौं– बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ।

आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआराधना गरिन्छ। साथै देवीहरुलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली पनि दिइन्छ। तर विशेषगरी आज विशेषगरि आजका बोका, रागाँ, परेवा, हाँस र भेंडाको बली अर्थात् पञ्चबलि दिने प्रचलन छ। पशुबली नदिनेहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्छन्।

दशैंघर तथा जमरा राखिएको कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ। साथै, फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने प्रचलन छ।

आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ।

साथै, काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा शक्तिरूपा भगवतीको विशेष पूजाअर्चना गर्ने चलन छ।

हनुमानढोकाको दसैं घरमा आज मध्यरातमा शक्ति रुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ रांगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।