भारत १० विकेटले विजयी
काठमाडाैं – वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले दुई टेष्टको श्रृखंला क्लिनस्विप गरेको छ ।
दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतीय टाेलीले उत्कृष्ट कमब्याक गरेको छ ।
भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । उसका लागि चेसले एक सय ६ रनको योगदान गरे ।
बलिङ तर्फ उमेश यादवले ६ विकेट लिए । जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए ।
दोस्रो पारीमा वेष्ट इन्डिज एक सय २७ रनमै समेटिन पुग्यो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन् ।
दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भूमिमा फितलो बनेको वेष्ट इन्डिजले ७२ रनको झिनाे लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा गर्याे ।