सिके राउत थुनामै रहने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सिके राउत थुनामै रहने



वीरगञ्ज । सिके राउतलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै जनकपुर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा परेको रिटमा कात्तिक १ गते सुनवाई हुने भएको छ ।

जनकपुर उच्च अदालत वीरगञ्ज अस्थायी इजलासका न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासमा आज भएको बहसमा राउतका तर्फबाट अधिवक्ता रामनरायण कुर्मी, वीरेन्द्र यादव र लालबाबु साहले पैरवी गर्नु भएको थियो । अन्य अधिवक्ताको बहस बाँकी नै रहेको र राउतविरुद्ध यसअगाडिका मुद्दामा भएको फैसला नक्कल तथा रौतहट जिल्ला अदालतमा राज्यविरुद्धको विचाराधीन मुद्दाको मिसिल पनि झिकाउने आदेश गर्दै उच्च अदालतले अर्को सुनवाई कात्तिक १ गते गर्ने जनाएपछि राउत थुनामै रहने भएका हुन् ।

१ बजे अदालतमा उपस्थित गराउन भनिए पनि रौतहट प्रहरीले राउतलाई ३ बजेमात्र उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा उपस्थित गराएकाले समय अभावले बहस पूरा हुन सकेन । राउत अदालत प्रवेश गर्दा पूर्वका जिल्लाबाट आएका उनका समर्थकले केहीबेर अदालतको मुख्य गेटमा नाराबाजी गरेका थिए । सरकारविरुद्ध नाराबाजी गरिरहँदा राउतका दुई दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । राउतलाई वीरगञ्ज ल्याउँदै छ भने थाहा पाएर जनकपुर वीरगञ्ज चल्ने बसमा आएका समर्थक अदालतअगाडि राजमार्गमा जम्मा भएका थिए । राउतबारे वीरगञ्जका स्थानीयमा भने खास चासो देखिएन ।

राउतका पक्षबाट बहस गर्दै अधिवक्ताहरुले राउतबाट राज्यविरुद्ध अपराध नभएको र उनलाई एउटै मुद्दामा पटकपटक आरोपित बनाउन नमिल्ने तर्क राखे । राज्यविरुद्धकै मुद्दामा उनलाई यसअघि सर्वोच्च तथा विशेष अदालतले सफाइ दिसकेको र फेरि रौतहट जिल्ला अदालतमा त्यही कसुरमा मुद्दा विचाराधीन रहनु गैरन्यायिक रहेको राउतका कानुन व्यवसायीको तर्क छ ।

राउत असोज २१ गते रौतहट जिल्ला अदालतमा राज्यविरुद्धको अपराध मुद्दामा तारिक लिन जाँदा उनलाई पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएर हिरासतमा राखिएको भन्दै समर्थक शिवनरायण पण्डितले उच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् । प्रहरीले भने रौतहटको गौर वडा नम्बर १ मा राउतले आफना समर्थकका साथ स्वतन्त्र मधेस, मधेसको भूमि खाली गर जस्ता नारा लगाएको आरोप पत्र दर्ता गरेको छ । राउतले अदालतमा अदालत परिसरबाट आफुलाई विनापुर्जी पक्रेको बताउनु भयो ।जनता समाचारबाट साभार