देउवालाई एक्ल्याउने प्रयास: पौडेल समूहको छुट्टै भेला - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

देउवालाई एक्ल्याउने प्रयास: पौडेल समूहको छुट्टै भेला



काठमाडौं – संस्थापन पक्षले केन्द्रीय कार्य समितिमा बहुमतका आधारमा नेपाल विद्यार्थी संघमा उमेर हद ३२ हुने गरी विधान स्वीकृत गरेपछि नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्तरिक रणनीति तय गर्न सक्रिय भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्य समितिले पौडेल र सिटौला पक्षको असहमतिका बाबजुद उमेर हद ३२ वर्ष निर्धारण गरेपछि संस्थापन पक्ष इतरका नेताहरु रुष्ट बनेका छन् ।

निर्णयप्रति पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत सात जना नेताहरुले ‘नोट अफ डिसिन्टे’ लेखेका थिए । बिहीबार बस्ने तयारीमा रहेको केन्द्रीय कार्यसमितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सामान्य रुपमा छलफल गरिरहेका पौडेल पक्षीय नेताहरुले बुधबार वनस्थलीस्थि एक पार्टी प्यालेसमा भेला बोलाएका छन् ।

संस्थापन पक्ष बाहेकका नेताहरु नेविसंघले सर्वसहमति रुपमा पठाएको विधानलाई सामान्य अध्ययनसमेत गर्न नदिइ पारित गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

१३औं महाधिवेशनमा सभापति देउवा क्याम्पबाटै महामन्त्रीका नेता अर्जुन नरसिंह केसीले आफ्ना असन्तुष्टिलाई कसरी राख्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘नेविसंघले सर्वसहम रुपमा पठाएको विधानलाई झस्केलाबाट झिकएर पारित गरियो । पद्धतिविहीन ढंगले काम भएको छ । बूढी मरिभन्दा पनि काल पल्कियो भन्ने मुख्य कुरा हो । यसमा कसरी जाने भन्नेबारे हामी छलफल गछौं, केसीले भने ।

यस्तै सिटौला पक्षले पनि आगामी केन्द्रीय कार्य समितिको बैठकमा कडा रुपमा प्रस्तुत हुने तयारी गरिरहेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार बैठक बस्ने तयारी भए पनि नेताहरु काठमाडौं बाहिर रहेकाले बुधबार टुंगो लाग्ने जानकारी दिए ।