प्रचण्ड र माधवको भर नलागेर वामदेवलाई काँध थाप्दै ओली - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रचण्ड र माधवको भर नलागेर वामदेवलाई काँध थाप्दै ओली



काठमाडौं । यस्तो लाग्छ कि वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुटु हुन् । उनी बिना नेकपा अगाडि बढ्नै सक्दैन जस्तो देखिएको छ । विशेष गरी पार्टी संगठनमा भन्दा पनि सत्ता संचालनमा वामदेव अहम् देखिएका छन् ।

त्यसैले त वामदेवलाई जहाँबाट भए पनि चुनावमा जिताउनु अहम् देखिएको छ । तर उनका लागि त्याग गर्ने नेकपाका सांसदहरु भने देखिएका छैनन् । पछिल्लो पटक काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको बुझिएको छ ।

पार्टीको हाइकमाण्डले नै संकेत गरेपछि मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने बताउँदै आफू राजीनामा गर्न तयार भएको बताएको स्रोतले जनाएको छ ।

कहाँ कहाँ भयो चर्चा ?
नेकपा सचिवालय सदस्य गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । चर्चा खुवै भयो । डोल्पाका सांसद धनबहादुर बुढाले आफू सिट छाड्न तयार रहेको तर स्थानीयसंग सल्लाह लिने बताए ।

बुढाले स्थानीय भेटेको बहाना गरे । तर त्यसअघि नै काठमाडौं हानिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्केको चर्चा भयो । ओलीले नै किन छाड्ने भनेर फर्किएको हल्ला पनि चल्यो ।

जब हाइ कमान्डले नछाड्न भनेपछि बुढाले स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएकाले नछाड्ने उद्घोष गरे ।

त्यसपछि गौतमलाई कहिले दैलेख, कहिले नवलपरासी त कहिले बाँकेबाट चुनाव लडाउने तयारी भयो । उनका लागि ठूलो रकम खर्चेर सांसद भएकाहरु त्याग गर्न तयार भएनन् । अनि यो विषय सेलाउँदै गयो ।

वामदेव थाकेनन् । राजनीतिमा यो इच्छाशक्ति जरुरी छ । राजनीतिमा लाग्ने माग्ने मान्छे हारबाट थाक्दैन भन्ने प्रमाण वामदेव बनेका छन् ।

ओलीको टर्निङ ?
वामदेवलाई सांसद बनाउनका लागि प्रधानमन्त्री ओली सकारात्मक बन्दै गएको बुझिन्छ । यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा वामदेव बर्दियाबाट नेपाली काँग्रेससंग पराजित भएका थिए ।

जबकि एमाले र माओवादीको चुनावी गठबन्धनले धेरैजसो स्थानमा विजय हासिल गरेको थियो । गठबन्धन नहुँदा समेत वामदेवले बर्दियाबाट जित्ने हैसियत राख्दथे । तर अप्रत्यासित हारे ।

वामदेवलाई हराउन ओली खेमाले निकै नै मेहनत गरेको चर्चा आयो । सफल पनि भयो । वामदेव स्तव्ध भए । छानबिनको माग पनि गरे । केही सीप लागेन । किनकि त्यो हाइकमाण्डको निर्देशानुसार भएको बताइयो ।

वामदेवको हारपछि ओली निर्विकल्प प्रधानमन्त्री भए । उनको विकल्प खोजिएन ।

वामदेव पार्टी एकता हुनुअघि नै प्रधानमन्त्रीका दावेदारका रुपमा हेरिएको थियो । एमाले र माओवादी केन्द्रका मध्यस्थकर्ताका रुपमा वामदेव रहेकाले उनलाई प्रधानमन्त्रीको मुख्य दावेदार हेरिएको थियो । दुई पार्टीका अध्यक्षहरुको विकल्प वामदेव नै थिए ।

अहिले एकाएक ओली परिवर्तन भएको बुझिन्छ । वामदेवलाई ल्याउन उनी सकारात्मक भएको संकेत मिलेको छ । स्रोतका अनुसार औपचारिक निर्णय नभए पछि अनौपचारिक छलफल तीव्र भएको छ ।

रामवीरले पार्टीको हाइकमान्डको निर्देशन मान्न आफू तयार रहेको जनाउ समेत दिएको बताइन्छ । राप्रपाका विक्रमबहादुर थापालाई ८ हजार मतले पराजित गर्दै रामवीर पपुलर मतका साथ विजय भएका थिए ।

त्यही पपुलर मत वामदेवले पनि पाउने आशा छ । तर ओलीको युटर्नलाई आश्चर्यका साथ हेरिएको छ ।

उच्च स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असहयोग बढेकाले ओली अब आफ्ना पुराना भरोसालायक नेता वामदेवलाई नै विकल्पका रुपमा हेर्न थालेका छन् ।

प्रचण्डले भारत र चीनको भ्रमण आफू सत्तामा पुग्ने भर्याङ मजबुद पार्न गरेको र सिंगापुरमा बसेर भविष्यको ग्राण्ड डिजाइन बुनेको आशंका ओलीलाई छ ।

त्यस्तै पछिल्लो समय वरिष्ठ नेता नेपालले ओली नेतृत्वको सरकारले देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार लगायतमा नियन्त्रण गर्न नसकेको भन्दै संसदमै असन्तुष्टिमात्र जनाएका छैनन् नेकपाको सचिवालय बैठकमै यो विषयले ठाउँ पाउँदैछ ।