एसपी बिष्ट र बम दिदीबहिनीमाथि पुन छानबिन गर्न माग
राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन एसपी डिल्लीराज बिष्ट र बम दिदीबहिनी बबिता र रोशनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा यस्तो निर्देशन दिएको हो । आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार कञ्चनपुर पुगेर तयार गरेको प्रतिबेदनका आधारमा एसपी बिष्ट एवं वम दिदिबहिनीलाई पुन अनुसन्धानको दायरामा ल्याई छानबिन गर्नुपर्ने देखिएको हो ।
आयोगले सरकारलाई ८ बुँदे निर्देशनात्मक सुझाव दिएको छ । ‘लाश फेला परिसकेपछि घटनास्थल तथा त्यहाँ रहेका प्रमाणहरुको संरक्षण उचित ढङ्गले स्थानीय प्रहरीबाट भएन, प्रमाण संरक्षण र संकलनको अतिरिक्त प्रमाण नष्ट गरेको पाइयो, आपराधि पता लगाउँन कुकुर परिचालन नगरेको भेटियो’, आयोगको प्रतिवेदनमा उल्लेख छ,‘प्रहरी कार्यालयका प्रमुख घटना स्थलमा आफै उपस्थित नभएको, समन्वय नगरेको हुनाले उनीमाथि थप अनुसन्धान आवश्यक छ ।’
पन्त हराएकै दिन निजकी आमाले बम दिदीबहिनीको घरमा सोध्दा खोजी नगरिएका कारणले पनि उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
शंकास्पद व्यक्तिहरुको डिएनए परिक्षण गरिएको भनिएता पनि उक्त ल्यावमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्य परिक्षण गर्न पर्याप्त तत्वहरुको थियो वा थिएन सोको समेत पुन बिश्लेषण तथा जाँच गर्न आयोगले भनेको छ ।
बलात्कार एवं हत्याको घटना भईसकेपछि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने भए पनि नेपाल प्रहरीले गरेको अनुसन्धानमा सुक्ष्मतम बैज्ञानिक परिक्षण र बिश्वसनियता नहँुदा आम मानिस तथा पीडित परिवारमा निराशा बढेको निष्कर्ष आयोगको रहेको आयोगका सचिव बेद भट्टराईले जनाएका छन् ।
प्रहरीको अनुसन्धानमा विश्वसनीयता नहुँदा आम मानिस र पीडित परिवारमा निराशा बढेको भन्दै आयोगले छिटो दोषीलाई कारबाही गर्नुपर्ने निर्देशन दिएको छ । पन्त घटना संगै भएको आन्दोलनका क्रममा मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानुन अनुसार कारवाही गर्न तथा सो घटनामा घाईते भएकाहरुको प्रभावकारी निशुल्क उपचारको व्यवस्था मिलाउँन समेत आयोगले निर्देशन दिएको छ ।
निर्मला बलात्कारपछि हत्या भएको प्रकरणलाई लिएर मानवअधिकारवादी सहित बिभिन्न संघसंगठनका साथै स्वतन्त्र समुहले आपराधीलाई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।