१७ सय किशाेरीलाइ एकसाथ आत्मरक्षा तालिम - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

१७ सय किशाेरीलाइ एकसाथ आत्मरक्षा तालिम



बलात्कार लगाएत महिलामाथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन्।

निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पत्ता नलाग्नु र त्यसपछि पनि बलात्कारका घटना बढ्दै गएपछि समाजमा उत्पन्न त्रासका कारण किशोरी, युवती र महिलाहरुमा आत्मरक्षा तालिम लिने अभुतपुर्व उत्साह देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्यालले लेखेका छन्।

आयोजकले तालिममा १ हजारलार्इ सहभागी गराउने लक्ष्य लिएका भए पनि आत्मरक्षा शिविरमा १७ सय महिला सहभागि भएका छन्। तालिम लिनेमा विभिन्न बिद्यालयका कक्षा ७ देखि कक्षा १२ सम्मका किशोरी, क्याम्पसका छात्राहरु, संस्थामा आबद्ध महिला लगायत रहेका छन्।

आत्मरक्षा तालिम लिनेमा १४ देखि २० वर्ष सम्मका किशोरीको संख्या बढी रहेको छ। यस प्रदेशमा बलात्कार लगायतका महिला हिंसाको बिरुद्धमा आत्मरक्षा तालिम दिइएको यो पहिलो पटक हो।

मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर संचालन गरेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए।

निर्मलाको हत्या पछि पनि बढ्दै गएका बलात्कारका घटनाले समाजमा कति त्रास उत्पन्न उत्पन्न भएको छ भन्ने कुरा यो उत्साहपुर्ण सहभागिताले देखाएको महिला अधिकारकर्मी बिनु चौधरीले बताइन्।

बलात्कार लगायतका महिलामाथि हुने हिंसा आत्मरक्षा गर्ने साहस र क्षमता मिलोस भनेर तालिममा सहभागी भएको महिलाहरुले बताएका छन्। उनीहरु यो तालिम सिकेपछि आफु बिरुद्ध हुने हिंसाका बिरुद्ध जुध्ने र आत्मरक्षा गर्ने क्षमता विकास हुने विश्वास लिएका छन्।

तालिममा सार्वजनिक स्थान लगाएत घरपरिवार तथा आफन्तबाट हुने हिंसा तथा बलात्कार गर्न खोज्दा कसरी बच्ने लगायतका टिप्स सिकाइने राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव तथा मुख्य प्रशिक्षक चन्दले बताए।

यसैगरी तालिमका सहभागिलार्इ प्रहरी उपरिक्षक बिनोद घिमिरेले कानुनी प्रावधान र प्रहरी उजुृरी दिने तरिकाका वारेमा सिकाउने छन्। असौज २६ गतेसम्म संचालन हुने ७ दिने शिविरको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बलात्कार घटना बढेको उल्लेख गर्दै यसलाई न्युनिकरण गर्न प्रदेश सरकार गंभिर रहेको बताए।