२४ लाख कार फिर्ता गर्दै टोयटा कम्पनी - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

२४ लाख कार फिर्ता गर्दै टोयटा कम्पनी



एजेन्सी। जापानी कार निर्माता कम्पनी टोयटाले आफ्ना कारहरुमा देखिएको समस्याको कारण विश्वव्यापीरुपमा २४ लाख हाइब्रिड कार फिर्ता गर्ने भएको छ। कारहरुमा देखिएको कमजोरीको कारण शक्ति चुहावट हुने तथा अन्य केही समस्याहरु देखिनसक्ने भएसँगै कम्पनीले यस किसिमको निर्णय गरेको हो।

प्रियुस र औरिस मोडलका १२ लाख ५० हजार कारहरु जापानबाट फिर्ता गरिने कम्पनीले बताएको छ। कम्पनीले आठ लाख ३० हजार कारहरु उत्तर अमेरिकाबाट फिर्ताको तयारी गरेको छ। साथै युरोपबाट दुई लाख ९० हजार कारहरु फिर्ताको तयारी गरिएको छ।

जसमध्ये ५५ हजार कारहरु बेलायतबाट फिर्ता गर्ने तयारी भइरहेको छ। सन् २००८ को अक्टोबरदेखि सन् २०१४ को नोभेम्बरको बीचमा निर्माण गरिएका कारहरुमा यस किसिमको समस्या देखिएको हो। कम्पनीले अहिलेसम्म आफ्ना कारहरुमा देखिएको समस्याको कारण कुनै पनि दुर्घटना भने नभएको बताएको छ।

कार निर्माता कम्पनीले कुनैकुनै अवस्थामा मात्र कारमा देखिएको समस्याले दुर्घटना निम्त्याउनसक्ने बताएको छ। अहिले देखिएको समस्याले कारको पावर स्टेरिङ्ग र ब्रेकिङमा समस्या आउनसक्ने बताइएको छ। सवारी चलाउँदाको समयमा धेरै गति भएमा दुर्घटनाको उच्च जोखिम हुनसक्ने देखिएको हो।

टोयटा कम्पनीले यसअघि पनि अहिले उल्लेख गरिएको समस्याबाट पार पाउनका लागि केही कारहरु फिर्ता गरिएको बताएको छ। सन् २०१४ र २०१५ मा उक्त कारहरु फिर्ता गरिएको कम्पनीले बताएको हो। टोयटाको बेलायतको शाखाले यसबाट प्रभावित हुनसक्ने मानिसहरुलाई यसबारे जानकारी दिनसक्ने बताएको छ।

यस किसिमको समस्यालाई कम्पनीले केवल ४० मिनेटमा नै सुधार गर्नसक्ने दाबी गरेको छ। पछिल्लो केही वर्षमा टोयटाले आफ्ना कारहरुमा देखिएको समस्याको कारण उल्लेख्य कारहरु फिर्ता गर्दै आएको छ। टोयटाले आफ्ना कारमा देखिएको खराबीसँगै उसले उल्लेख्य मात्रामा फिर्ता गरेको थियो। यसअघी एयरब्यागमा देखिएको खराबीसँगै टोयटाले विश्वव्यापीरुपमा ६५ लाख कारहरु फिर्ता गरेको थियो।