राजपरिवारको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

राजपरिवारको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार



काठमाडौं : पूर्व राज परिवारको सबै सम्पत्ति अहिले पनि नेपाल ट्रष्टमा आउन नसकेको भन्दै त्यसबारे जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरिने नेपाल ट्रष्टले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहेको नेपाल ट्रष्टका कार्यकारी सचिव डाक्टर रमेशप्रसाद सिंहले लुकाइएको सम्पत्ति वा ट्रष्टमा आउन नसकेको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कारको व्यवस्था भइरहेको बताए।

संसदको राज्य व्यवस्था समितिलाई जानकारी दिँदै सिंहले भने, ‘लुकेको सम्पत्ति खोज्न कठिन भएको छ। ऐनमा परिमार्जन गरी लुकेको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कृत गर्ने योजना ल्याउँदैछौं।’

अहिले नेपाल ट्रष्टमा ८७ अर्बको सम्पत्ति रहेको जानकारी दिँदै सिंहले नविल बैंक, अन्नपूर्ण होटल लगायतमा शेयर रहेको जानकारी दिएका थिए।

गरीवी निवारण कोष खारेज हुने अवस्थामा

समितिमा गरीबी निवारण कोष खारेज हुने अवस्थामा पुगेको जानकारीसमेत गराइएको छ। मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण मैनालीले राज्य व्यवस्था समितिलाई जानकारी दिँदै लगानीकर्ताले हात झिकेपछि कोष खारेज हुने अवस्थामा पुगेको बताए।

‘गरिबी निवारण कोष विश्व बैंकको सहायतामा सुरु भएको थियो। यो डिसेम्बरबाट विश्व बैंकले हात झिक्दैछ,’ मैनालीले भने, ‘यस विषयमा एक समिति बनाएर अध्ययन पनि गरिएको छ। नयाँ व्यवस्था नभए कोष खारेज हुनेछ।’