ओली सरकारले सुगतरत्नलाई जेल पठाउने, दिगम्बरलाई पुरस्कार दिने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ओली सरकारले सुगतरत्नलाई जेल पठाउने, दिगम्बरलाई पुरस्कार दिने



काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकार दुबै अहिले चर्चा र विवादमा छन् । सरकारले यी दुई व्यक्तिमध्ये एउटालाई बोक्ने र अर्कोलाई ठोक्ने रणनीति लिएको देखिन्छ ।

सरकारले दिगम्बर झालाई नरम र सुगतरत्नलाई कठोर नीति लिएको हो । झाले पनि विगतमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको थियो । तर प्रधानमन्त्री केपी ओलीले विगतको कुरालाई वेवास्ता गर्दै अब भ्रष्टाचार हुन नदिने अभिव्यक्ति दिएर झाको बचाउ गरेका छन् ।

झालाई देशैभरी इन्टरनेट विस्तारको जिम्मेवारी दिएर प्रधानमन्त्री ओलीले दुर संचार प्राधिकरणमा ल्याएको बताइन्छ ।

दिगम्बर झा नेपाल आयल निगममा बसेर काम गरेको अनुभवी प्रशासक मानिन्छन् । सुगतरत्न कंशाकार पनि त्यस्तै अनुभवी व्यक्ति हुन् ।

विहीबार राज्य व्यवस्था समितिमा उपस्थित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडी विमान खरिद प्रकरणमा छानविन थालेको बताएर सुगतरत्नमाथि अख्तियारको नजर परिसकेको खुलासा गरेका छन् ।

यस्तै विविध कारणले कार्यकारी अध्यक्ष मदन खरेललाई ल्याएर सुगतरत्नलाई सरकारले भूमिका विहिन बनाएको हो । सुगतरत्नलाई उस्तै परे जेल नै हाल्नेसम्मको सोचमा प्रधानमन्त्री ओली पुगेका छन् ।

विवादित नै भए पनि झाको सन्दर्भमा भने अमेरिका जानु अघि नै प्रधानमन्त्री ओलीले बचाउ गरेका थिए ।