गण्डकी प्रदेशको लोगोमाथि उजुरी
कास्की – गण्डकी प्रदेश सरकारले दुइदिन अघि सार्वजनिक गरेको लोगोमाथि उजुरी परेको छ ।
लोगो निर्माण प्रतिस्पर्धामा सहभागी पोखराका महेन्द्र उपाध्यायले आफूले बनाएको लोगोमा थोरै मात्रै परिमार्जन गरेर पास गरेको पाइएकाले छानबिनको माग गर्दै बुधबार गण्डकी प्रदेशको कार्यालयमा उजुरी दिएका हुन् ।
उपाध्यायले आफूले तयार गरेको दुइवटा लोगोसँग हुबहु मिल्ने र केही कुरामात्रै थपघट गरेर अन्तिम लोगो तयार गरिएकोले छानबिन गर्न माग गरेका हुन् ।
प्रदेशसभामा आफूले दुईवटा लोगो पेश गरेकोमा ती दुवै लोगो मिसाएर बनाइएको लोगोलाई सार्वजनिक गरेको भन्दै उपाध्यायले कर्मचारीले अरुको लोगो डिजाइन हेरेर निर्माण गरेकोले आफ्नो परिश्रमको अवमूल्यन भएको पनि बताएका हुन् ।
लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गोरखाका विनित रानामगरले बनाएको भन्दै लोगो पास गरेपछि प्रदेश सरकारले सार्वजनिक गरेको थियो ।
विनित प्रदेशसभा सचिवालयका कर्मचारीसमेत रहेको बुझिएको छ । समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । विनितलाई नगद २५ हजार पुरस्कार प्रदान पनि गरिएको छ ।
लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिइएको थियो । समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो ।