पुनर्वासमा जुवातासको बिगबिगी: प्रहरीलाई मस्ती - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पुनर्वासमा जुवातासको बिगबिगी: प्रहरीलाई मस्ती



 रञ्जित लामा/पुनर्वास
कञ्चनपुरको पुनर्वासमा दिनप्रति दिन जुवातासको बिगबिगी बढ्दै गएको छ ।
जुवातास नियन्त्रणमा सरोकारवाला निकायले ध्यान नदिँदा जुवातासको बिगबिगी बढ्दै गएको हो ।

अस्थायी प्रहरी पोस्ट आई.बी.आर.डी नजिकै नियमित जसो लाखौँको जुवा तास हुने भए पनि जुवातासमा कुनै पनि रोकटोक नहुने श्रोतले बतायो ।

श्रोतका अनुसार पुनर्वासको आई.बी.आर.डी. बजारको दुई स्थानमा कार्ड पत्ति र म्यारिज नामको लाखौँको जुवातास हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् । दैनिक १ लाखदेखि ५ लाखसम्मको खेल हुने श्रोतको दाबी छ । सामान्यतया चाडपर्वमा जुवादासको खालहरूमा वृद्धि हुने भए पनि त्यस क्षेत्रमा भने बाह्रै मासे लाखौँको जुवातास हुने जुवातासमै संलग्न एक जुवाडेले बताए ।

पुनर्वासको विभिन्न स्थानहरूमा यति बेला जुवातास व्यावसायिक रूपमा नै खेलाउँदै आएपछि सामाजिक सद्भावमा समेत खलल पुगेको स्थानीय वयोवृद्ध समाजसेवी ठाकुरप्रसाद बरालले चिन्ता व्यक्त गरेका छन् । ‘प्रहरीलाई जुवातास खेल्ने अड्डासमेत देखाउँदा पनि प्रहरीले जुवातास खेल्ने र खेलाउनेलाई कुनै कारबाही नै गर्दैन ।’ उनले भने– ‘प्रहरीलाई जुवातासको अड्डा देखाउनु भनेको प्रहरीको लागि आम्दानीको श्रोत देखाउनु सरह हो’

प्रहरीकै संरक्षणको कारण यतिखेर पुनर्वासमा दिनप्रतिदिन जुवातास मौलाउँदै गएको अर्का स्थानीय बुद्धिजीवी हरिप्रसाद लम्सालले बताए । ‘प्रहरीले इमानदार तरिकाले चाहेमा यो नियन्त्रण हुन सक्छ’ उनले भने, ‘प्रहरीले जुवादासलाई कमाइ खाने भाँडाको रूपमा लिने प्रवृत्तिका कारण यो कार्य नियन्त्रण हुन नसकेको हो ।’
यता प्रहरीले भने जुवातासमा विविध कारणवश निगरानी कमी भएको स्वीकार गरेका छन् । ‘गाउँघरमा खेल्ने सामान्य जुवातासलाई ठुलो जुवा भनेका होलान्’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले भने, ‘लाखौँको जुवातास खेल्ने र खेलाउने गरेको अहिलेसम्म भेटिएको छैन ।’ ‘चाडपर्वको पूर्वसन्ध्यामा चाहिँ लाखौँको जुवातास हुनसक्छ, यस्तो भए कानुन बमोजिम कारबाही गर्छौँ ।’ प्रहरी निरीक्षक बमले भने ।

दैनिकी लाखौँको जुवातास खेल्ने खेलाउनाले कयौँको घरबार विहीन भइरहेको र समाजमा चोरी डकैती, सामाजिक विकृतिसमेत बढिरहेको स्थानीयबासीहरु बताउँछन् । साथै जुवातासले घरेलु हिंसा समेत सृजना गर्ने महिला अधिकारकर्मीहरूको भनाई छ ।

अस्थायी प्रहरी पोस्ट आई.बी.आर.डी.देखि ५ सय मिटर वरपर लाखौँको जुवातास हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरी सुरक्षाप्रति नै यतिखेर प्रश्न चिन्ह खडा भएको भन्दै यतिखेर नागरिक समाजले खिन्नता प्रकट गरेका छन् । जुवातासमा मिलेमतो भएको आरोप खेप्दै आएका इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र अस्थायी प्रहरी पोस्ट आई.बी.आर.डी. ले यतिखेर यो आरोपलाई सत्य नजिक पु¥याउँदै गएको स्थानीय बुद्धिजीवीको ठहर छ ।

अपराध अनुसन्धानमा आफ्नो दक्षता र दख्खल छोड्दै आएका नेपाल प्रहरीले आफ्नै वरपर हुने लाखौँको जुवातासको अड्डा फेला पार्न नसक्नुले प्रहरी सङ्गठनकै यतिखेर मानमर्दन भएको छ ।
पुनर्वासमा बाह्रै मासे हुने लाखौँको जुवातासमा प्रहरीको संरक्षण रहेको भन्दै स्थानीयले आरोप लगाएपछि ‘पुलिसलाई फल, जुवाडेलाई बल’ भन्ने कथन पुनर्वासमा एकाएक चर्चित बन्दै गएको छ ।