प्रचण्ड र देउवा गोप्य भेट: बन्यो यस्तो योजना
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गुपचुपमा भेटेको रहस्य खुलेको छ । बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर यही आश्विन १० गते प्रचण्डले देउवासँग भेटेका श्रोतले जनाएको छ । सरकार बनेपछि गुपचुपमा भेटेको यो पहिलो भेट पनि होइन रहेछ ।
स्रोतका अनुसार देउवाको सिङ्गापुर भ्रमण अघि पनि प्रचण्डले भेटेका थिए र आफू सिङ्गापुर जानुभन्दा अगाडी १० गते उनीहरू बिच भेटवार्ता भएको रहेछ । पछिल्लो समय प्रचण्ड आफ्नै सरकारको कामसँग सन्तुष्ट छैनन् र प्याच्च मुख फोरेर बोल्न पनि मिलेको छैन । हल्का पाराले सरकारसँग असन्तुष्टिको प्रकट गर्न थालेका प्रचण्डले शान्ति प्रक्रियाका बाँकी रहेका विषयहरू टुंगाउन उच्च राजनीतिक सहमति खोज्न थालेको भनिए पनि यो भेटलाई कहिले अर्थपूर्ण मानेका छन् ।
‘शान्ति प्रकृयाका बाँकी रहेका काम प्राविधिक ढङ्गले मात्र हल गर्न सम्भव छैन र यसो गर्नु व्यवहारिक पनि हुँदैन, त्यसैले प्रचण्डले उच्चस्तरीय राजनीतिक समझदारी खोज्ने प्रयास थाल्नु स्वाभाविक हो,।
यसबारेमा केही नेकपाका नेताहरूसँग कुरा गर्दा धेरै जसोले अनविज्ञता प्रकट गरे तर नाम नबताउने सर्तमा प्रचण्ड खेमाकै एक नेताले गेम चेन्ज हुनसक्ने सङ्केत गरे । उनले भने ‘प्रचण्डजीले यो सरकारबाट निकै आशा गर्नुभएको थियो तर दिन प्रतिदिन खिन्नता भन्दा केही आएको छैन, राम्रो गर्नको लागि उहाँले केही रिक्स लिन सक्ने सम्भावना छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग अहिले निष्क्रिय प्राय रहेको छ । यी आयोग निष्कर्षमा पुग्ने सम्भावना टाढिँदै गएको छ । यो अवस्थामा ‘भावी प्रधानमन्त्री’का रूपमा बसिरहेका प्रचण्ड चिन्तित हुनु स्वाभाविक पनि हो । स्रोत अनुसार प्रचण्डले ओलीकै प्रधानमन्त्रीत्व कालमा शान्ति प्रकृयाका यावत काम पूरा गरेर क्लिन चीट लिन र देशको मुहार फेर्न चाहेका हुन् यो असम्भव जस्तै देखियो ।
प्रचण्ड निकट स्रोतका अनुसार आगामी मङ्सिर ५ भित्र शान्ति प्रक्रियालाई पूर्णाहुती दिने पक्षमा प्रचण्ड छन् । ०६३ मङ्सिर ५ मा तत्कालीन नेकपा माओवादी र सात दलबिच भारतको राजधानी नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो । सो सम्झौता अनुसार माओवादी शान्ति प्रक्रियामा आएको थियो । शान्ति प्रकृयाले पूर्णाहुती नपाउन्जेल प्रचण्डले युद्ध अपराधबाट क्लिन चीट पाउन सक्ने अवस्था छैन । त्यसै गरी देउवालाई पनि क्लिन चीन चाहिएको छ । देउवा प्रधानमन्त्री रहेको बेला सङ्कटकाल लगाइएको थियो । र यी दुवैको लागि मिलेर अगाडी बढ्नुको विकल्प भने छैन ।
देउवा र प्रचण्ड दुवैले शान्ति प्रक्रिया टुंगाउन उच्चस्तरीय राजनीतिक सहमति चाहे भने पनि प्रधानमन्त्री ओलीले चाहन्छन् कि चाहँदैनन् भन्ने प्रस्ट भइसकेको छैन ।
काँग्रेस सभापति देउवा निकट एक नेताका अनुसार प्रचण्ड र देउवाले अब निरन्तर भेट गरी छलफल गर्ने सहमति समेत गरेका छन् ।