सङ्घर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’ बजारमा
काठमाडौं। लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको शनिबार राष्ट्रिय समाचार समिति का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गरेका हुन् ।
अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र राइटर (प्रभाकर) लाई मुख्य पात्र बनाएर प्रेमको आख्यानीकरणको प्रयत्न गरेको बताए । उनले प्रेमलाई कोरारुपमा मात्र नहेरी यसको सामाजिकीकरण गरी हरेक झुपडीमा रुमल्लिएका पीडालाई कलापूर्ण र घनीभूतरुपमा प्रस्तुत गर्न सकेमा लेखकको सामाजिक उत्तरदायित्वसमेत पूरा हुने बताए ।
पत्रकार रामकुमार एलनले उपन्यासको प्रभाकर पात्रले समाजमा उज्यालो छरेको र उपन्यासले सहरी युवायुवतीको मन छुने प्रयास गरेको बताए । गुल्मीको धुर्काेट गाउँपालिका निवासी क्षेत्रीको उपन्यास सहरी जीवनका पात्रको प्रेम र सङ्घर्षमा आधारित छ भने कृतिमा सूचना प्रविधिको नवीनतम् भाषाशैलीसमेत प्रयोग गरिएको छ । क्षेत्रीका फुटकर कविता प्रकाशित छन् । पुस्तकको प्रकाशन ‘सेट नेपाल’ले गरेको हो । -रासस