नेकपा भित्रैबाट सरकार ढल्नसक्ने सङ्केत ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपा भित्रैबाट सरकार ढल्नसक्ने सङ्केत !



सत्तारूढ नेकपाभित्रै सरकारको काम प्रभावकारी हुन नसकेकोमा आवाज उठ्न थालेको छ। बलियो कम्युनिस्ट पार्टी, दुईतिहाइको सरकार गठन हुँदासमेत जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको जनगुनासो बढ्न थालेपछि नेकपाभित्र सरकारको सुस्त काम गराइप्रति शीर्ष नेतृत्व तहबाटै आवाज उठन थालेको स्रोतले बतायो।

महँगी, धूलोधूवाँ, ढिलासस्तीलगायत सरकारको काम गराइका विषयमा अध्यक्ष पुष्पकमल दाहालले नै प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन्। ‘जनताको अपेक्षा र सरकारको पहलकदमी केकति कारणले प्रभवकारी बन्न सकेनन् भन्ने विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको छ’, दाहाल निकट स्रोतले भन्यो।

प्रतिपक्षी कांग्रेस कमजोर अवस्थामा रहेको र सरकारको काम गराइ पनि प्रभावकारी बन्न नसक्दा राजनीतिक वितृष्णा पैदा हुन सक्ने बुझेर नै प्रधानमन्त्री ओली र दाहालबीच सरकारको समीक्षा सुरु भएको हो। दाहालले सार्वजनिक कार्यक्रममै अहिलेकै अवस्थाबाट सरकार अगाडि जाँदा आउने चुनावमा नेकपालाई जनताले भोट किन दिने भन्ने प्रश्न उठाउन सक्ने भन्दै सरकारको काम गराइप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

दाहालले उद्योग वाणिज्य महासंघ वीरगन्जको कार्यक्रमदेखि निर्माण व्यवसायीको चितवनमा आयोजित कार्यक्रममा सरकारको काम गराइप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए।

दाहाल निकट स्रोतका अनुसार उनले यस विषयमा प्रधनमन्त्री र पार्टीभित्रै छलफल गरेर कमजोरी सुधारेर अगाडि कसरी बढ्ने भन्ने नै सोचेका छन्। छिमेकी दुई मुलुक भारत–चीनको हालै भ्रमण गरेर फर्केका दाहाल सरकारको विकल्प खोजिहाल्ने पक्षमा भने देखिँदैनन्। उनले विगतमा आफूले गरेका दुई कमजोरीका कारण मुलुक निकासभन्दा समस्यामा जेलिनुपरेको बुझेका कारण पनि अहिले अन्य विकल्प खोज्नेतिर सोच्दै नसोचेको उनी निकट स्रोतले बतायो।