काम गरेको पारिश्रमिक नपाएपछि कतारमा एक नेपालीले गरे आत्महत्या
दोहा । काम गरेको पारिश्रमिक नपाएपछि कतारमा एक नेपालीले आत्महत्या गरेका छन् । एक्वा मास्टर्स कम्पनीमा ५ वर्षदेखि कार्यरत काठमाडौं जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमानसिंह जिम्बाले कम्पनी होस्टेलनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
मार्चमा ३ महिनाको घरबिदा सकेर पुनः कतार पुगेका जिम्बा ५ महिनादेखि कम्पनीले तलब नदिएकै कारण डिप्रेसनमा थिए । रोजगारीका लागि साइप्रस पुगेका भाइको उतै निधन भएपछि २०१० मा जिम्बा कतार गएको र कम्पनीले लामो समयसम्म तलब नदिएपछि मानसिक तनावकै कारण आत्महत्या गरेको अनुमान गरिएको छ ।
कम्पनीमा ४४ नेपालीसहित ७७ आप्रवासी कामदार कार्यरत छ । उनीहरुले लामो समयदेखि तलब पाउन सकेका छैनन् । जिम्बाको श्रीमती एक छोरा र एक छोरी छन् ।

