आजबाट सुरु भयो सोह्र श्राद्ध - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आजबाट सुरु भयो सोह्र श्राद्ध



काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।

यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नुअघि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो ।सोह्रश्राद्धलाई पितृ तृप्तिका निमित्त उत्तम समय मानिएकाले श्राद्ध गर्ने गरिएको हो । बाबुको तिथिमा सोह्रश्राद्ध गर्नु उत्तम मानिएको पनि प्रा डा गौतमले बताउनुभयो । मङ्गलबार अपराह्न प्रतिपदा तिथिमा श्राद्ध गरिन्छ ।