प्रतिपक्षसँग मिलेर काम गर्न सरकार तयार छ :प्रधनमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले कर्मी मौरीझैं मिलेर काम गरे मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नु भयो ।
शनिबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको चौंथो स्मृति सभालाई सम्बोधन गर्दै उहाँले सहान प्रधानजस्ता अग्रजहरुको सपना पूरा गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुले देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले विगतमा बामपन्थीको भूमिकालाई कमजोर पार्न खोजिएकै कारण मुलुक पछाडि परेको दावी समेत गर्नु भयो ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले सरकारसँग नतर्सिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले जनताको विश्वासलाई डगमगाउन नदिने दृढता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेतृ साहना प्रधानले नेपालको राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलका बीच पनि आफूलाई राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभ्याएको स्मरण गराउनु भयो । उहाँले पार्टी एकतासँगै मुलुक निर्माण गर्ने ठूलो अभिभारा आएको भन्दै त्यसलाई पूरा गर्न लाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । समाजवाद निर्माण गर्ने अभिभारा पुरा नगरे पार्टीसँग देशै डुब्न सक्ने अध्यक्ष दाहालको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र नेता बामदेव गौतमले पनि नेतृ साहना प्रधानले नेपालको राजनीतिक र सामाजिक जागरणको आन्दोलनमा खेल्नु भएको नेतृत्वदायी भूमिकाको चर्चा गर्नु भएको थियो ।