एरिष्टो इङ्सिल बोर्डिङ स्कुलका विद्यार्थीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एरिष्टो इङ्सिल बोर्डिङ स्कुलका विद्यार्थीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग



ललित जाग्री/कैलाली

सामाजिक, आर्थिक, शारीरिक तथा मानसिक समस्या तथा उल्झनमा परी सडकको कष्कर जीवनयापन गर्न बाध्य भएका, विविध कारणले मानसिक सन्तुलन गुमाएका वा गुमेका भनिएका महिलाको उद्धार गर्ने विशुद्ध सेवाको भाव बोकी स्थापना भएको दृष्टि फाउन्डेसन, कैलालीलाई धनगढी उपमहानगरपालिका – ८ क्याम्पस चोक स्थित एरिष्टो इङ्सिल बोर्डिङ स्कुलका विद्यार्थीहरूले स्व:स्फूर्तरुपमा सहयोग गरेका छन् ।

एरिष्टो इङ्लिस बोर्डिङ स्कुल क्याम्पस रोड धनगढीमा नर्सरी देखि कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूले नगद रु १४ हजार रुपैंयाका साथमा खाद्यान्न, लुगा कपडा, जुताचप्पल र महिलाका लागि आवश्यक पर्ने शृङ्गारका सामग्री उपलब्ध गराएका हुन् । विद्यार्थीले गरेको सहयोग ग्रहण गर्दै दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले आफ्नो फाउन्डेसनले १४ लाख बराबरको सहयोग पाएको अनुभूति भएको बताउनुभयो । भविष्यका कर्णधार मानिने कलिला हातहरू बाट यति ठुलो ऊर्जा प्राप्त भएकामा अझै बढी उद्धारका काम गर्न प्रेरणा दिएको प्रतिक्रिया दिदैं विद्यार्थी प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

स्थापना भएको छोटो समयमा धेरै उद्धारका काम गर्न सफल भएको दृष्टि फाउन्डेसनले १७ जना महिला लाई उद्धार गरिसकेको छ । धनगढीकै समाजसेवी तथा बुद्धिजीवी महिलाहरूको सक्रियतामा स्थापना भएको उक्त फाउन्डेसनले असोज ४ गते मात्रै दुई जना महिलाको उद्धार गरेको छ । धनगढी १६ भादा गाउँको तिलकपुरमा १२ वर्ष देखि निर्वस्त्र रूपमा जङ्गलमा कुटी बनाएर बसेकी एक महिला र वर्षौँ देखि बाख्राको खोरमा बस्नु पर्ने पीडा सहँदै आएकी लम्की चुहाकी एक महिलाको उद्धार गरेको हो ।