निर्मला हत्याकाण्ड: घटनामा नयाँ मोड, एसपी विष्टसहित १९ जनाको मोबाइल जफत - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

निर्मला हत्याकाण्ड: घटनामा नयाँ मोड, एसपी विष्टसहित १९ जनाको मोबाइल जफत



कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘‘निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेछ, कतिपय सूचना सेनाबाटै घटना भएको हुनसक्छ भन्ने पनि आएका छन् ।’

तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या कसले गर्यो भन्ने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ । झण्डै २ महिना पुग्न लाग्दा पनि प्रहरीले निर्मला हत्याको सुराक प्राप्त गर्न सकेको छैन । प्रहरी अधिकारीले अनुसन्धान जारी रहेको बताउँदै आएका छन् । प्रहरीले शंकास्पद विभिन्न व्यक्तिहरुको ‘कल डिटेल’ हेरिरहेको बताइएको छ ।

यसैबीच, हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । घटनामा प्रहरी अधिकारीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको डीआईजी (प्रस्तावित एआईजी) धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो ।

टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो । कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाण्डु झिकाइएको छ ।