निर्मला हत्याकाण्ड: केसीले भनेको शक्तिशाली अपराधी को हो ? - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

निर्मला हत्याकाण्ड: केसीले भनेको शक्तिशाली अपराधी को हो ?



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ माग गरेको छ ।

सरकारले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहिबारको बैठक अवरुद्धसमेत गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले भोली संसदमा जानकारी दिने भएपछि अवरुद्ध संसद बैठक सुचारु भएको थियो ।

बैठक शुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्य संयन्त्र ढाकछोपमा केन्द्रीत भएको देखिन्छ ।’

उनले यो प्रकरण राज्य संरक्षित अपराधको रुपमा जनताले बुझेको पनि आरोप लगाए ।

उनले उपसचिव तथा छानविन समितिका सदस्य वीरेन्द्र केसीले अनुसन्धान टोलीबाट राजीनामा दिनुले पनि अनुसन्धान प्रक्रियामा गम्भिर प्रश्न उठेको बताए ।

‘केसीले निर्मला पन्तले न्याय पाउने अवस्था आयो भन्नु र शक्तिशाली अपराधीबाट ज्यानको खतरा भन्दै जीवन रक्षाको अपिल गर्नुले पनि गम्भिर प्रश्न खडा गरेको छ,’ बडुले भने ।

‘केसीले भन्नुभएको शक्तिशाली अपराधी को ?,’ उनले प्रश्न गरे, ‘नेपाल सरकारको उपसचिव जस्तो व्यक्तिले जीवनरक्षाको लागि संयुक्त राष्ट्र संघ र नागरिक समाजलाई गुहार्नु पर्ने अवस्था कसरी आयो ?’

यो राज्य अन्य कुनै शक्तिले त चलाइरहेको छैन भन्दै उनले सरकारसमक्ष प्रश्न पनि गरे ।

त्यस्तै, तरुण दल रोल्पाका अध्यक्ष रोहित पुन हत्याको दोषीलाई पनि सरकारले पत्ता लगाउन नसकेकोमा गम्भिर ध्यानाकर्षण गराए ।

यसको साथै खोजतलास साप्ताहिकका सम्पादक राजु वस्नेतलाई बिना कारण पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उनले जिकिर गरे ।

बडुले यी गम्भिर प्रश्नहरुबारे सरकारले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए ।

जवाफमा सभामुख कृष्णबहादुर महराले यसमा ध्यानाकर्षण भएको र उपयुक्त समयमा सरकारबाट तुरुन्तै जवाफ आउने बताए ।