मोड्रिच होइन मेस्सी हुन् संसारका सर्वोत्कृष्ट खेलाडी
काठमाडौं — स्पेन राष्ट्रिय टोलीका प्रशिक्षक लुइस अनरिकेले फिफाको सर्वोत्कृष्ट पुरस्कारका सम्बन्धमा राय दिँदै बार्सिलोनाका खेलाडी लियोनेल मेस्सी संसारकै सबभन्दा प्रभावशाली खेलाडी भएको बताएका छन् ।
फिफाले अघिल्लो हप्ता उक्त पुरस्कारको तीन शीर्ष उम्मेदवारको नाम सार्वजनिक गरेको थियो र त्यसमा लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहको नाम छ ।
रोनाल्डो र मोड्रिच दुवैले रियाल मड्रिडलाई च्याम्पियन्स लीग उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरेका थिए । मोड्रिचले विश्वकपमा गोल्डेन बल जितेका थिए । सलाहले भने लिभरपूलको पहिलो सीजनमा कीर्तिमानी प्रदर्शन गरेका थिए ।
पुरस्कारका लागि मेस्सीलाई नछानिएपछि धेरैजना छक्क परेका थिए जबकि उनले बार्सालाई ला लिगा र कोपा देल रे जिताउन योगदान गरेका थिए ।
स्पेनले क्रोएसियासँग खेल्नुअघि अनरिकेले मोड्रिच प्रभावशाली खेलाडी भएपनि मेस्सी उनीभन्दा एक तह माथि भएको बताए ।
‘म क्रोएसियाका खेलाडीको कुरा गर्दा मोड्रिच र इभान राकिटिचको नाम लिन्छु,’ स्पेनी प्रशिक्षक अनरिकेले भने, ‘उनीहरू दुवैजना पुरस्कारका लागि योग्य छन् ।’
‘तर सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार दिने कुरा गर्दा लियो मेस्सीलाई दिनुपर्छ किनकि उनी अरूभन्दा एक तह माथि छन् ।’
अनरिकेको स्पेनी टोलीले इंग्ल्यान्डलाई २–१ ले हराएपछि मंगलवार क्रोएसियासँग भिडन्त गर्दैछ ।