सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरे घटुवा हुने

नेपाल वायुसेवा निगमले आफ्ना कर्मचारीहरुलाई समाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न र त्यस्ता टिप्पणीहरुलाई लाइक, कमेन्ट र सेयर नगर्न निर्देशन दिएको छ।
वायुसेवा निगमकै कर्मचारीले निगमका बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने र त्यस्ता टिकाटिप्पणीलाई लाइक कमेन्ट र सेयर गर्ने गरेको पाइएपछि निगमले आइतबार आफू मताहतका सबै कमचारीलाई यस्तो निर्देशन दिएको हो।
आयोगको निर्देशनविपरीत कुनै कर्मचारीले नकारात्मक टिप्पणी गरेमा तल्लो पदमा पद घटुवा गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपालखबरलाई बताए।
निगमले यसबारेमा आफू मतहातका कर्मचारीलाई दिएको निर्देशनमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्तसम्बन्धी विनियमावली २०५८ को विनियम ७४ (१) मा गरिएको आजैका मितिदेखि कुनै पनि कर्मचारीले यो विनियम उलंघन गरेमा विनियम ९२ (क) को खण्ड (ख) अनुसार तल्लो तहको पदमा घटुवा गरिने व्योहोरा जानकारी गराइन्छ।’
महाप्रबन्धक कंसाकारले यो विनियम वि.सं. २०५८ देखि लागू भएको भन्दै कर्मचारीले नकारात्मक टिप्पणी गर्न नपाइने प्रस्ट पारे।

