निर्मला पन्त हत्या छानबिन प्रति सांसदको आपत्ति
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको छानबिन गिजोलिएको प्रति सांसदहरुले आपत्ति जनाएका छन् ।
मंगलबारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसदहरुले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसीले आफ्नो हत्या हुने सक्ने भन्दै दिएको राजीनामाप्रति सांसदहरुले आपत्ति जनाएका छन् । केसीले हत्यारा पत्ता लाग्न मुस्किल भएको भन्दै सोमबार राजीनामा दिएका थिए ।
सांसदहरुले हत्याको छानबिनमा कहिँकतै अवरोध सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कांग्रेसका सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय भएको बताए ।
उनले उपसचिव केसीले ‘निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा’ दिएको भनेर दिएको अभिव्यक्तिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
सांसद नन्दा चपाईंले पन्त हत्या प्रकरणमा अहिलेसम्म पनि अपराधी पत्ता नलाग्नु आश्चर्य जनक विषय भएको बताउँदै घटनाका सम्बन्धबारे सरकार गम्भीर नभएको आरोप लगाइन ।
उनले घटनाको छानबिनका लागि तीनै तहका सरकारी संयन्त्रलाई परिचालन गर्न माग गरिन् । त्यस्तै अर्का सांसद महेशकुमार महराले कञ्चनपुरको घटनाको छानबिन समितिका सदस्य केसीलाई आएको धम्कीप्रति सरकार संवेदनशील हुनुपर्ने बताए ।
सांसद प्रमिलाकुमारी यादवले प्रधानमन्त्रीले उत्पीडित समुदायका पक्षमा संविधान संशोधनमा प्रतिबद्धता जनाए पनि हालसम्म कुनै पनि काम अघि नबढाएप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद विमला पौडेलले पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा छानबिन गर्न गठित समितिमा स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीको पनि सहभागिता भए छानबिन प्रभावकारी हुने धारण राखिन् । उनले पीडित पक्षले न्याय पाउनेप्रति निराशा बढ्दै गएको सचेत रहन सरकारलाई आग्रह गरिन् ।
अर्की सांसद बिना पोखरेलले गत चैतदेखि असार मसान्तसम्म एक सय ५० भन्दा बढी महिलामाथि हिंसा र बलात्कारका घटना भएको उल्लेख गर्दै यस्ता अमानवीय घटनालाई राजनीतिक स्वार्थसँग जोड्न नहुने बताइन् ।