चितुवाको आक्रमणबाट अर्घाखाँचीमा एक बालिकाको ज्यान गयो

सन्धिखर्क–८ किमडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । सन्धिखर्क–१० धरम्पानीका रिखिराम राना र पुष्पा रानाकी ६ वर्षीया छोरी सदीक्षा रानालाई चितुवाले सिकार गरेको हो ।
पुष्पा तीन छोरी लिएर घरबाट माइत जान हिँडेकी थिइन् । बहिनीको घरमा एकरात बसेर दर खान सन्धिखर्कको पकलेमा रहेको माइती घर जाने योजनामा थिइन् । पसलबाट चाउचाउ किनेर फर्कंदै गर्दा कान्छी छोरी सदीक्षालाई चितुवाले आक्रमण गरेको हो ।
उनलाई चितुवाले लगेपछि अन्य दुई दिदीबहिनी रुँदै–चिच्याउँदै घर पुगेका थिए । स्थानीयले आधा शरीर खाएको अवस्थामा जंलमा उनको शव फेला पारेका थिए ।
घटना भएलगत्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायब उपरीक्षक नवराज मल्ल, जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवाली, जिल्ला न्यायाधिवक्ता हरि घिमिरेलगायतका सरकारी अधिकारीको टोली घटनास्थल पुगेको थियो ।
जिल्लामा पछिल्ला पाँच÷६ वर्षदेखि निरन्तर चितुवाले बालबालिकाको ज्यान लिने गरेको छ । हालसम्म करिब डेढ दर्जन बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भइसकेको छ ।

