भारतीय पत्रिकामा यस्तो छापियो प्रचण्डको बारेमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच एकता भए पनि आफूले जनयुद्धको मर्मलाई नछोडेको बताएका छन् ।
भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा प्रचण्डले यस्तो बताएका हुन् । माओवादीले सबै छोडेको र एमालेले केही नछोडेको भन्ने कुरा गलत भएको भन्दै प्रचण्डले ‘हिन्दुस्तान टाइम्स’मा प्रकाशित प्रशान्त झाले लिएको अन्तवार्तामा यस्तो बताएका हुन् ।
‘मैले जनयुद्धको मर्मलाई छोडेको छैन् । यसको महत्वलाई पनि घटाएको छैन । संविधान र पार्टीका दस्तावेजमा यी कुरा तपाईंले देख्न सक्नुहुन्छ । संघीय गणतान्त्रिक नेपाल निर्माण गर्नका लागि जनयुद्धले खेलेको भूमिका र योगदानलाई यी दस्तावेजमा समेटिएको छ’, प्रचण्डले भनेका छन्, ‘केपी शर्मा ओली र म दुवै अध्यक्षले यी दस्तावेजमा हस्ताक्षर गरेका छौँ । हामीले सबै कुरा छोड्यौँ र एमालेले केही पनि छोडेन भन्ने होइन । दुवै विचारलाई नयाँ पार्टी निर्माणमा समेटिएको छ ।’
पार्टी एकतामा दुई वर्षभित्र महाधिवेशन गर्ने गरी निश्चित मार्गचित्र तयार भएको खुलासासमेत प्रचण्डले गरेका छन् । महाधिवेशनसमेत सहमति र समझदारीको हिसाबमै हुने उनको भनाइ छ ।
‘मुख्यकुरा यसलाई कसरी अगाडि लाने भन्ने हो । हामीबीच केही समझदारी र सम्झौता भएका छन् । दुई वर्षभित्रमा हुने महाधिवेशनसम्म अगाडि बढ्नका लागि हामीसँग निश्चित मार्गचित्र छ । यो एकताको महाधिवेशन हुनेछ’, प्रचण्डले भनेका छन्, ‘जसलाई बहुमत र अल्पमतको अभ्यासबाट नभई सहमति र समझदारीको हिसाबमा उपयोग गर्नेछौँ ।’