प्रचण्डको क्रियाकलापमा ओलीको गम्भीर आपत्ति, अब के हुन्छ ? - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रचण्डको क्रियाकलापमा ओलीको गम्भीर आपत्ति, अब के हुन्छ ?



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले गम्भीर असहमति जनाएका छन् । दुई तिहाई सरकारको पक्षमा वातावरण बनाउन भारत भ्रमण गरेको, दुई तिहाई सरकारको पक्षमा भारतमा वातावरण बनाएको जस्ता प्रचण्डको अभिव्यक्तिमा ओलीको आपत्ति रहेको बुझिन्छ ।

प्रचण्डको भारत भ्रमणबाट प्रधानमन्त्री ओली खुशी थिएनन् । ओलीले यो भ्रमण ६ दिनबाट तीन दिन बनाइदिने वातावरण बनाइदिएको बुझिन्छ । प्रचण्डलाई राजकीय अतिथिको शैलीमा भारतमा व्यवहार गरिएको थियो । यसलाई प्रधानमन्त्री ओलीको टिमले अस्वाभाविक मानेको छ ।

भ्रमणबाट फर्किएर प्रचण्डले जे बोले त्यसमा प्रधानमन्त्री ओलीको गम्भीर आपत्ति रहेको बुझिएको छ । दुई तिहाई सरकारको पक्षमा भारतमा वातावरण बनाउने काम आफूले गरेको प्रचण्डले बताएका थिए । प्रधानमन्त्री ओलीको आपत्ति यसैमा रहेको बुझिन्छ । नेकपाका एक नेताका अनुसार प्रचण्डको ‘भारतमा वातावरण बनाएको’ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा नै असहमति जनाउनेछन् ।

‘नेपालको सरकारको पक्षमा भारतमा किन वातावरण बनाउनुपर्यो ?’ ओली निकट ती नेताले प्रश्न गरे । उनका अनुसार भारतसँग अहिले नेपालको राम्रो सम्वन्ध छ, सम्वन्ध राम्रो छैन भन्ने आशयमा प्रचण्डको भ्रमण मञ्चन गराइएको छ ।

प्रचण्डले नेपाल सरकारको अन्तर्राष्ट्रिय साखमै प्रश्न उठाएको ओलीको टिमको बुझाई छ । यो बिषयमा पार्टीभित्र र बाहिर दुवैतिर प्रश्न उठाउने र खण्डन पनि गरिने ओली निकटहरुको भनाई छ ।

गृहमन्त्रीको चासो

  अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा केके खिचडी पकाए ? सबैलाई यसको चासो छ तर असाध्यै चासो देखाएका छन् गृहमन्त्री रामबहादुर थापा वादलले ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा प्रचण्डले बोलेको भिडियो रेकर्ड समेत गृहमन्त्री वादलले झिकाएर हेरेका छन् । गृहमन्त्रीको हैसियतले सबैखाले सूचनामा रुची देखाउनु स्वाभाविक हो, तर, वादलले व्यक्तिगत रुपमा नै अत्यधिक चासो देखाएका छन् । उनले यो चासो प्रधानमन्त्री केपी ओलीको निर्देशनमा देखाएका हुन् कि कुनै खास कारणले ? यो कुरा खुल्न सकेको छैन ।

वार्तामा चीन तत्व

प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका बारेमा छलफल गरेका छन् । प्रचण्ड स्वयंले यो कुरा खोलेका हुन् । भारतका प्रधानमन्त्रीले चीनकाबारेमा प्रचण्डसँग कुरा गर्नुलाई अस्वाभाविक मानिएको छ ।

हालै नेपाल र चीनबीच पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भएको छ । ओली अघिल्लो पटक प्रधानमन्त्री छँदा चीनसँग पारवहन सन्धि भएको थियो । त्यसपछि शेरबहादुर देउवा र प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनीहरुको कार्यकालमा प्रोटोकलमा हस्ताक्षर गर्न नेपालले आनाकानी गर्दै आएको थियो । ओली पुन प्रधानमन्त्री बनेपछि प्रोटोकलमा हस्ताक्षर भएको छ र हस्ताक्षर लगत्तै प्रचण्डको भारत भ्रमण भएको हो ।

यद्यपि, प्रोटोकलमा हस्ताक्षर हुन पहिले नै प्रचण्डको भारत भ्रमण तय भइसकेको थियो ।

मोदीले प्रचण्डसँग चीनको विषयमा छलफल किन गरे भन्ने प्रश्न उठिरहेको छ । भारत भ्रमणबाट फर्किए लगत्तै चीन जाँदैछन् प्रचण्ड । उनको चीन यात्रालाई प्रभावित गर्ने उद्देश्यले मोदीले केही भनेका हुन् कि भन्ने प्रश्न उठिरहेको छ ।

ओलीलाई सन्देश र संकेत

जानकारहरुका अनुसार प्रचण्डको भ्रमणको क्रममा भारतले ओलीलाई खास सन्देश र संकेत दिएको छ । त्यो हो, ओलीको विकल्पमा भारतले प्रचण्डलाई अगाडि सार्दैछ । भारत भ्रमणमा आफूले विशेष मानसम्मान र स्वागत पाएको प्रचण्डले बताएका छन् । सांसद पदमा मात्र रहेका प्रचण्डलाई राजकीय हैसियतले भारतले स्वागत गरेर मान्यता दिनुको खास अर्थ हुनसक्छ ।

प्रचण्डले नेपालको स्थिरता, विकास र समृद्धिकोबारेमा भारतमा कुरा गरेको बताएका छन् । यस्ता विषयमा कुरा गर्ने आधिकारिकता प्रचण्डसँग छैन । उनी राज्यको प्रतिनिधिको हैसियतले पनि गएका थिएनन् । व्यक्ति प्रचण्डलाई उच्च महत्व दिएर भारतले ओलीलाई दिएको संकेतले के परिणाम ल्याउँछ भन्ने प्रतीक्षा गर्नुपर्ने भएको छ ।