कोहली र पूजाराको कारण भारतको अवस्था नाजुक !
भारतसँगको पाँचौँ टेस्ट क्रिकेटको चौथो दिन घरेलु टोली इंग्ल्याण्डले खेलमा बलियो पकड कायम गरेको छ । दोस्रो पारीमा ८ विकेटको क्षतिमा ४२३ रन बनाएको इंग्ल्याण्ड पाँचौँ टेस्ट पनि जित्ने बलियो सम्भावनामा पुगेको छ ।
दोस्रो पारीमा यो खेलपछि सन्यस लिने घोषणा गरेका एलिस्टर कुक र जोए रुटको शतकीय पारीमा इंग्ल्याण्डले भव्य स्कोर बनायो । कुकले १४ चौकाको सहयोगमा १४७ रन बनाए । यस्तै रुटले १२ चौका र एक छक्काको सहयोगमा १२५ रनको योगदान दोस्रो पारीमा दिए ।
भारतका हनुमा बिहारी र रवीन्द्र जडेजाले समान तीन तीन तथा मोहम्मद सामीले दुई विकेट लिए । पहिलो पारीमा ३३२ तथा दोस्रो पारीमा ४२३ रन बनाएपछि भारतका लागि जितको लक्ष्य विशाल बन्यो ।
पहिलो पारीमा २९२ रन बनाएको भारतीय टोलीले सोमबार नै दोस्रो पारीको ब्याटिङ्ग थालेको छ र उसलाई सुरुवातमै झड्का लागेको छ । दिनको खेल सकिँदा भारतले तीन विकेटको क्षतिमा मात्रै ५८ रन बनाएको छ र जितका लागि ४०६ र आवश्यक छ ।
कप्तान विराट कोहली र चेतेश्वर पूजारा शून्य रनमा आउनु भारतका लागि घातक बन्यो । यस्तै शिखर धवनले पनि मात्रै एक रन बनाए । ४६ रन बनाएका केएल राहुल र १० रन बनाएका अजिन्क्या राहाणे क्रिजमा छन् ।
भारतका लागि कप्तान कोहली, पूजारा र धवन आउट भइसकेको अवस्थामा विशाल लक्ष्य पछ्याउन लगभग मुश्किल देखिएको छ । पाँच टेस्टको शृङ्खलामा भारत ३–१ ले पराजित भइसकेको छ ।