पोर्चुगलले इटालीलाई हरायो
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले इटालीलाई हराएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगलले इटालीलाई १–० ले हराएको हो ।
लिग ए अन्तर्गत समूह ए थ्री मा रहेको पोर्चुगलले घरेलु मैदानबाट लिगमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा पोर्चुगलका लागि दोस्रो हाफको सुरु तिरै आन्द्रे सिल्भा गोल गरे । सिल्भाले ४८ औँ मिनेटमा गरेको गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।
रोनाल्डोले अहिले अन्तर्राष्ट्रिय फुटबलबाट आराम लिएका छन् । उनले बिदा मनाइरहेका छन् । तर रोनाल्डो बिना पनि फर्नान्डो सान्तोसको टिमले विश्वकपमा छनौट नभएको इटालीलाई हरायो ।
जितपछि पोर्चुगल समूहको शीर्ष स्थानमा छ । उसको तीन अंक भएको छ भने इटाली र पोल्याण्डको एक एक अंक रहेको छ । अब पोर्चुगलले पोल्याण्डसँग खेल्न बाँकी छ ।