रोनाल्डो बिनाको पोर्चुगलले क्रोएसियालाई रोक्यो
विश्वकप फुटबलपछिको पहिलो खेलमा क्रोएसिया पोर्चुगलसँग बराबरीमा रोकिएको छ । बलिया टिमलाई हराउँदै रुसमा भएको विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो ।
तर क्रोएसियाली टोलीको प्रशंसा विश्वभरबाट भयो । विश्वकपपछिको पहिलो खेलमा बिहीबार राति क्रोएसिया पोर्चुगलसँग १-१ को बराबरीमा रोकिएको हो । क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले क्रोएसियालाई घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकेको हो ।
लिस्बोनमा भएको खेलमा भ्रमण टोली क्रोएसियालो १८ औँ मिनेटमा इभान पेरिसिकको भली गोलबाट अग्रता लिएको थियो । तर ३२ औँ मिनेटमा पेपेले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । राति नै भएका मैत्रीपूर्ण खेलमा नेदरल्याण्डसले पेरुलाई २-१ तथा अस्ट्रियाले स्वीडेनलाई २-० ले हरायो ।