काठमाडौं-मुग्लिन सडकः दुई लेन थपिने - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

काठमाडौं-मुग्लिन सडकः दुई लेन थपिने



सरकारले नागढुंगा-मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ।

सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको हो।

हाल दैनिक १८ हजारसम्म गाडी गुड्ने यो सडकमा सन् २०२२ सम्ममा २५ हजार गाडी गुड्ने अनुमान छ।

‘पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप धान्न सो सडकलाई ४ लेनको नबनाई हुँदैन,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने, ‘सडक मर्मत गरेर सवारीको गति प्रतिघन्टा १५ किलोमिटरसम्म मात्र पु-याउन सकिने देखियो।’

उद्गमबाट आएको समयभन्दा बढी समय सवारीसाधन मुग्लिन–नागढुंगाको जाममा पर्ने गरेकाले यो सडक ४ लेनमा विस्तार गर्नुको विकल्प नरहेको उनले बताए।
श्रेष्ठका अनुसार सडक विभागले त्रिशूली नदीको पारि किनारबाट हाल दुई खण्डमा गरी २६ किलोमिटर सडक विस्तार गर्न लागेको छ।

यसअन्तर्गत तत्काल सिस्नेखोला–धार्के ११ किलोमिटर र विशालटार–फिस्लिङ १५ किलोमिटर सडक निर्माण गर्ने योजना अघि बढाएको छ । ‘भविष्यमा ४ लेनमा विस्तार गर्न त्रिशूलीपारि किनारैकिनार नौबिसेदेखि मुग्लिनसम्म नै सडक विस्तार गर्ने अवधारणा छ,’ श्रेष्ठले भने।

यो सडक निर्माणका लागि सडक विभागले विश्व बैंकको सहयोगमा डिटेल डिजाइन प्रतिवेदन तयार पारिसकेको खबर पुष्प कोइरालाले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

त्रिशूलीपारिबाट दुई खण्डमा विस्तार हुने सडक निर्माण गर्दा सकेसम्म कम पहाड भत्काउने र सम्भव भएका ठाउँमा तलबाट पर्खाल उठाएर सडक निर्माण गर्ने प्रविधि अपनाइने भएको छ।

हाल सञ्चालनमा रहेको त्रिशूलीवारिको सडकलाई समेत विस्तार, मर्मत र सडक सुरक्षा वृद्धि गर्ने योजनाको डिजाइन तयार पारिएको छ।