विप्लवलाई जहाँ देख्यो त्यही समात्न आदेश
काठमाडौँ । सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भारतमा बसेर पार्टीका गतिविधि सञ्चालन गर्दै आइरहेको निष्कर्षमा सुरक्षा संयन्त्र पुगेको छ ।
संगठनमा विस्तारमा सक्रिय नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उमा भुजेल लगायतका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव पछिल्लो समय भारतमा सेल्टर लिएर गतिविधि गर्न थालेको निष्कर्षमा सुरक्षा निकाय पुगेको हो ।
‘विप्लवको अधिकांश बास भारतमा हुने गरेको पाइएको छ । कतिपय समयमा गोप्य बाटोबाट उनी नेपाल आएको पनि देखिन्छ’, सुरक्षा स्रोतले भन्यो ।
भोजपुर जिल्ला अदालतले बम विष्फोट प्रकरणमा विप्लवलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएपछि विप्लव प्रहरीको खोजी सूचीमा छन् । त्यसयता विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
नेपाल प्रहरीले देशभर ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई जहाँ देख्यो, त्यही समात्न आदेश जारी गरेको छ । विप्लवलगायत नेकपाका सबै नेताहरुले प्रयोग गर्ने टेलिफोन नम्बर पनि अफ छ ।