नबिना लामाले छुटाएका ‘गुण्डा नाइके’ सत्यमान लामा फेरी पक्राउ
काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद नबिना लामाको रोहबरमा छुटेका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ परेका छन् ।
स्थानीय व्यक्तिलाई धम्की दिएको अभियोगमा लामा पुनः पक्राउ परेका हुन् । स्थानीय व्यक्तिको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।
काभ्रे तिमाल गाँउपालिका– ६ मान बहादुर तामाङ लगायतलाई फोनबाट धम्की दिएको अभियोगमा सत्यमान पक्राउ परेका हुन् । सत्यमानको स्थायी घर पनि काभ्रेको तिमाल गाउँपालिका–६ मै पर्छ ।
लामाले फोनबाट ज्यान मार्ने धम्की दिएपछि पीडितहरुले प्रहरीकहाँ उजुरी दिएका थिए । ‘लामाले अस्लिल शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हात खुट्टा भाँचिदिने, मार्ने, तँलाई मारे बापत जेलमा बस्न एकजना तयार छ भनी धम्की दिएको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिउको हो,’ महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले भने ।
उजुरीको आधारमा लामाको खोजीमा गएको प्रहरी टोलीले उनलाई मंगलवार ठमेलबाट पक्राउ गरेको हो ।
गुन्डागर्दीमा संलग्न रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले गत असार २८ गते (बिहीवार) पक्राउ गरेका लामालाई नेकपा सांसद नबिना लामाका दवावमा जमानीमा रिहा भएका थिए ।