मोउरिन्होलाई एक वर्षको कारावास सजाय
काठमाडौं — म्यानचेस्टर युनाइटेड क्लबका व्यवस्थापक जोसे माउरिन्होले करछलीको आरोपमा एक वर्षे कारावास सजाय पाएका छन् । कुल ३३ लाख युरोबराबरको करछलीमा उनलाई स्पेनी कर अधिकारीहरूले दोषी ठह–याएका हुन् ।
यी पोर्तुगाली प्रशिक्षक स्पेनको आन्तरिक राजस्व विभागको अनुसन्धानमा परेका छन् । तर गत वर्षको नोभेम्बरमा उनीविरुद्धको मुद्दा किनारा लगाइएको भनिएको थियो ।
‘मैले उत्तर दिइनँ, बहस गरिनँ । मैले पैसा तिरें अनि म सबै कुरा स्वीकार्छु भन्ने बयानमा हस्ताक्षर गरें र मुद्दा सकिएको छ,’ मोउरिन्होले दश महिनाअघि पोजुएलो दे अलार्कोनस्थित अदालत परिसरबाट बाहिर निस्केपछि बताएका थिए ।
तर अदालतका प्रवक्ताले उनी अझै अनुसन्धानकै घेरामा रहेको बताएका थिए ।
मोउरिन्होका वकिल र स्पेनी कर अधिकृतहरूबीच त्यसपछि वार्ता भइरहेको थियो । मोउरिन्होले लिखितमा आफूले वास्तविक आमदानी लुकाएको स्वीकार्ने भएका छन् ।
मोउरिन्होले कम्प्लायन्स सहमतिलाई स्वीकार गरेकाले उनी पुर्पक्षमा जानुपर्ने छैन र कारावासमा पनि बस्नुपर्ने छैन ।
स्पेनी कानून अनुसार दुई वर्षभन्दा कम कारावास सजाय हुने अपराध पहिलोपटक गरेको व्यक्तिले कारागारमा बस्नुपर्दैन ।
यसअघि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पनि करको लफडामा फसेका थिए ।
एजेन्सी